
विज्ञानको वैंश
क्रिकेटको एक छक्का हो
एक चौका हो
बेलाबेला चमत्कार गर्ने एक मौका हो
बिमार दूर गर्दै
अस्पतालको थिएटरमा चल्छ
दूरी सिनित्त खुम्च्याउँदै
हवाइजहाजको ककपिटमा
रकेटको ट्युबमा हुँइकिन्छ
चन्द्र र मंगल सतहमा ओर्लिन्छ
कम्प्युटरका स्क्रिनमा सल्बलाइरहन्छ
चमत्कारहरु भइरहन्छ
अनवरत प्रयोगगशालाहरुमा
विज्ञान भौतिक गति हो कहिल्यै बुढो हुँदैन
विज्ञान रुँदैन र हाँस्दैन पनि
त्यसैले थाक्दैन पनि
तर मानिसहरुलार्इ भने सताइरहन्छ
सिधै भान्साकोठामा पस्छ
रसायन भएर सताउँछ
सिधै फोक्सोमा पस्छ
कार्बन भएर सताउँछ
प्लास्टिकहरुको महादेश भएर सताउँछ
ठूलो आवाज र आगोको मुस्लोले
हिरोसिमा र नागासाकी भएर सताउँछ
कहिले ब्ल्याक स्यार्टडे बुसफायर भएर
कहिले अमेजनको आगो र न्युयोर्कको हरिकन क्याट्रिना भएर सताउँछ
विज्ञान आश भएर सताउँछ
विज्ञान विनाश भएर सताउँछ
विज्ञानको कुरकुरे वैंश बढ्दै जाँदा
बिस्तारादेखि खेतबारीसम्म
कृत्रिम इन्टेलिजेन्स स्वविकास गर्ने सोफियाहरु
भूगर्वको पुन: इन्जिनियरिङ गर्ने भन्दै
अगाडि पछाडि उफ्री उफ्री नाचिरहेका बेला
मानिसको स्वज्ञान घट्दै जाँदा
रित्ता कुटीहरुमा सन्नाटा भरिएर
पुजारी बिनाका मन्दिरहरु झैं उभिएर
खाली खाली तर अतृप्त मनहरु बरालिंदा
कतै रोबोटहरु मानिसको बुर्इ चढ्ने त होइनन्
मानिसकै देखासिकी गर्दै
बाँदरहरुले मानिसहरुलाई जिस्क्याए झैं
मानिसलार्इ शासन गर्ने त होइन
विज्ञान मालिक र ज्ञान दास भयो भने
मानिस मेसिन र मेसिन मानिस हुन्न भन्न सकिन्न
अन्योल नै अन्योलमा
मेसिनहरुको जंगलमा
मानव सभ्यताका पाइलाहरु रुमलिन्न भन्न सकिन्न
ब्रह्माण्डको कुनै अर्को बिन्दुबाट हेर्दा
आफूलार्इ आधुनिक घोषणा गर्ने
सशस्त्र कविलाहरुले विस्फोटक युग
पार गर्लान् यकिन भन्न सकिन्न
प्यासिफिक ह्रयुम्यानोसिन आउनु अगावै
कतै एलिएनहरुले चन्द्र स्टेसनबाट
निलो धर्तीको कालो इतिहास
स्याटलाइटका अवयवहरुबाट
खोतल्दै खोतल्दै रिकभर गर्दा
साइन्स एक्सप्लोजन एज इन एन्थ्रोपोसिन
प्रिम्याचुर होमोस्यापिन्स एक्सटिङ्सन वीद
बायोसाइड क्राइम अफ होल स्पेजिज कनफर्म्ड
भन्ने त होइनन् ?
–म्याग्दे–६, तनहुँ
प्रतिक्रिया 4