+
+
विचार :

महामन्त्रीद्वयको महापरीक्षा

एक व्यक्ति अवसरका लागि पार्टी छोड्नु ठूलो कुरा होइन, तर यसले आम कार्यकर्तामा पर्ने प्रभाव महामन्त्रीद्वयका लागि निकै भारी पर्ने महापरीक्षा हो ।

भुवन न्यौपाने भुवन न्यौपाने
२०८० वैशाख ३ गते १९:१२

राजनीतिक, आर्थिक र सामाजिक आयाममा आएको परिवर्तनले पार्टी र समाजभित्र नै एउटा स्वप्नकल्प नेतृत्वको जनअपेक्षा चुलिंदो छ । पछिल्लो निर्वाचनबाट निकै नाटकीय परिणाम आएको सन्दर्भमा नेपाल तीन संघीय निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मुखमा छ ।

नेपाली मतदाताले बेला बेलामा विकल्पको मत प्रकट गर्ने गरेका छन् । गत चुनावमा पनि नयाँ पार्टीका केही नयाँ उम्मेदवारहरूलाई विजयी बनाई आफ्नो प्रतिनिधिका रूपमा नीति–निर्माणको थलो संसदसम्म पुर्‍याएका छन् ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँमा गगन थापा र चितवनमा विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर तोकेको छ । महामन्त्रीद्वयले चुनावी सभालाई सम्बोधन गर्दै निकै आक्रोशपूर्ण भाषण गरे ।

भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा आफ्ना सहकर्मी डा. स्वर्णिम वाग्ले प्रवेश गरी चुनावी मैदानमा उत्रिएपछि महामन्त्रीद्वयलाई यो चुनाव निकै प्रतिष्ठा र परीक्षाको विषय बन्न पुगेको छ ।

संघर्ष : पार्टीभित्रै र वैकल्पिक दलको प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निकै लोकप्रिय मत सहित निर्वाचित महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसलाई मौलिक र आधुनिक पार्टीमा रूपान्तरण गर्ने उद्घोष गरेका थिए ।

विद्यार्थी राजनीति हुँदै मूल पार्टीको राजनीतिमा उदाएका नेताद्वय युवा पुस्ताका आइकन बने । युवा तर परिपक्व छवि बनाएका उनीहरू आम जनताले बढी स्वीकारेका र विश्वास गरेका नेतामा पर्छन् ।

भुवन न्यौपाने

दलको महाधिवेशनपूर्व यी नेताद्वय कांग्रेसको महामन्त्री बने कस्तो होला भन्ने कल्पना अधिकांश कांग्रेसजनको हुन्थ्यो । नभन्दै दुवै जना निर्वाचित भएर आए । पार्टीको शुद्धीकरण, रूपान्तरण, पुस्तान्तरण र विधान अनुरूप पार्टीलाई नवीन सोचका साथ अगाडि बढाउन महामन्त्रीद्वयले निकै कसरत गरेका छन् । तर, त्यी प्रयासहरू फलामको चिउरा चपाए जस्तो देखिएका छन् ।

शक्तिशाली संस्थापन पक्ष र कमजोर इतर पक्षबीचको रस्साकस्सीमा महामन्त्रीद्वयले समयानुकूल कार्यसम्पादन गरी नवीनता देखाउन सकिरहेका छैनन् ।

राजनीतिको आरोह-अवरोहमा निकै परिपक्व ढंगले प्रस्तुत हुने दुवै नेतालाई पछिल्लो निर्वाचन पनि निकै सकसपूर्ण नै रह्यो । गगनको तेस्रो र विश्वप्रकाशको पहिलो जितले आम कांग्रेसजनमा निकै उत्साह थपिएको थियो ।

तर, सत्ता संघर्षमा भने तीन दशक पुराना शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली र माधवकुमार नेपालकै दबदबा देखिएपछि आमअपेक्षाको युवा प्रधानमन्त्रीको कल्पना पूरा हुन सकेन ।

आफ्नै पार्टीका शक्तिशाली नेताका विरुद्ध संसदीय दलको नेताका लागि गगनले प्रतिस्पर्धा गर्ने हिम्मत गरे र उक्त घटना विरलै हुने चुनावी दृश्यका रूपमा इतिहासमा स्थापित भयो ।

चुनावी मतपरिणाम जे-जस्तो आए पनि त्यसले प्रवाह गरेको आम सन्देशले गगनलाई सहानुभूतिको मत निर्विकल्प थियो । आशालाग्दो नेताको हिम्मतले कुनै कुनै चुनाव संख्या र परिणामले हारे पनि जनविश्वासमा भने जित नै हुने रहेछ ।

विशेषतः नेपालमा पछिल्लो समय पुराना पार्टीमा जीवनको उत्तरार्धमा पुगेका शीर्ष नेताहरू राजनीतिक विश्राम होइन, निरन्तरतातिर नै होमिएको असहज दृश्य नेपाली युवाले असहज रूपमा हेरिरहेका छन् ।

तिनै नयाँ पुस्ताको चाहनालाई मुखरित गर्ने उद्देश्य सहित नयाँ वैकल्पिक पार्टीहरू पनि नेपालमा उदाएका छन् । यसबाट लोकतान्त्रिक विचारधाराका रूपमा खुला राजनीतिक सिद्धान्तको हिमायती पुरानो र सबैभन्दा ठूलो भनिएको दल नेपाली कांग्रेसलाई नै क्षति पुग्ने संकेत देखिन्छ ।

वर्षौंदेखि दलमा काम गर्दै आएका तर कुनै जिम्मेवारी र भूमिकामा रहेर राष्ट्र र जनताको परिवर्तनको हुटहुटी राखेका आशालाग्दा युवालाई पन्छाउन खोज्दा त्यसको परिणाम तितो हुनसक्छ ।

महामन्त्रीका रूपमा पार्टीको भूमिकामा आइसकेपछि आम कार्यकर्ताले केही नवीनता चाहेका छन् । पार्टीभित्रको एकता जोगाउँदै अन्य पुराना र नयाँ पार्टीसँगको प्रतिस्पर्धामा अब्बल सावित हुनु नेताद्वयका चुनौती हुन् ।

यो अवस्थामा नेतृत्व र संस्थापन पक्षलाई भन्दा महामन्त्रीद्वयको साख र भविष्यको आशालाई जोगाएर आम कार्यकर्तालाई पार्टीपंक्तिमा क्रियाशील बनाउनु निकै चुनौतीपूर्ण देखिन्छ । गुट र उपगुटमा चिराचिरा भएका समूहलाई एकताबद्ध गर्नु र असन्तुष्ट स्वरहरूको सम्बोधन गर्नु उस्तै सकस देखिन्छन् ।

पछिल्लो समय सूचनाप्रविधिमा भएको अभूतपूर्व विकासले राजनीतिमा राम्रा-नराम्रा दुवै प्रभाव भित्र्याएको छ । विशेषतः नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्ता प्रभावहरू धेरै देखिएका छन् ।

पार्टीमा स्वतन्त्रता हुनु तर कसिलो पार्टी संरचना नहुनुले एकातिर भएका कार्यकर्ता पलायन बढिरहेको छ भने अर्कोतिर नयाँ कार्यकर्ता थप्ने उत्साह पनि कम हुने जोखिम बढ्दो छ । त्यसको पछिल्लो उदाहरणका रूपमा पार्टीले गुमाएको लोकप्रिय मतलाई लिन सकिन्छ ।

परिवर्तित परिवेश : राजनीति योगदान कि योग्यता ?

बदलिएको राजनीतिक परिवेशमा पछिल्लो पटक सत्ता गुम्नुको कारण र पुनरागमनसम्मको संघर्ष कांग्रेसजनले निकै सुझबुझपूर्ण ढंगले नियालिरहेका छन् । पार्टीभित्रको संस्थापन र इतर पक्षबीचको घम्साघम्सी नयाँ समस्या नभएर विगतदेखिकै अस्वस्थ प्रतिस्पर्धाको परिणाम हो ।

संस्थापन पक्षले जहिल्यै इतर पक्षलाई पेलेरै अगाडि बढ्ने सोचका कारण कांग्रेसभित्रको अन्तरसंघर्ष थप चुलिइरहेको छ । पार्टीमा सबैको सम्मानजनक प्रस्तुति र उपस्थिति नदेखिनु लोकतान्त्रिक पार्टीभित्र विसंगति हो ।

विकल्प पार्टीभित्र र बाहिर सबैतिर हुन्छ भन्ने यथार्थ नेतृत्व पंक्तिले समयमै महसुस गर्नुपर्छ । आमनिर्वाचनपछि संस्थापन पक्षले बालुवाटारका बैठकमा महामन्त्रीद्वयलाई सामेल गर्न चाहेन । फलतः निर्वाचनमा होमिएको गठबन्धन भत्कियो ।

माओवादीको नेतृत्वमा नेकपा एमालेको सहमतिमा सरकार गठन भयो । नाटकीय ढंगबाट सत्ता गुमेपछि कांग्रेसजनमा नैराश्यता र आक्रोश थपिए । कसैले महामन्त्रीद्वयको भूमिकामा प्रश्न गरे भने केही बचाउमा लागे ।

सामूहिक प्रयत्नको अभाव सबैलाई खट्कियो । नागरिकता विवादमा रास्वपाका सभापति रवि लामिछाने सत्ताबाट बाहिरिएपछि कांग्रेससँगको सहकार्यका लागि प्रधानमन्त्री प्रचण्ड र महामन्त्रीहरूसँगको बालुवाटार र धुम्बाराही छलफल अगाडि बढाए ।

गत १० पुसमा माओवादीलाई रोक्न नसक्दा गुमेको राजनीतिक क्षति परिपूर्तिका लागि सभापति देउवाले महामन्त्री थापालाई प्रमुख जिम्मेवारी दिएर माओवादी अध्यक्षसँग निरन्तर परामर्शमा खटाएका थिए ।

कांग्रेस कोर्स करेक्सनको निकै महत्वपूर्ण घडीमा उभिएको छ । यस्तो अवस्थामा महामन्त्रीद्वयको क्षमता र योग्यता पार्टी रूपान्तरणमा देखिनुपर्दछ । केन्द्रदेखि वडासम्म नै संगठनका विभाजित मनस्थितिलाई समानता, एकता र समृद्धिमा जोड्ने महाअभियानको सुरुवात गर्न महामन्त्रीद्वयले ढिला गर्नुहुँदैन ।

पार्टीभित्रको चर्को अन्तरविरोध र नैराश्यताका बीच सभापति र महामन्त्रीसहित पदाधिकारीको प्रयासले गुमेको सत्ता फर्कियो । त्यसैले आफ्नो समेत अथक् प्रयासमा बनेको वर्तमान सत्ता गठबन्धनले प्रतिनिधिसभाको बाँकी पूर्ण कार्यकाल बिताउनेमा थापा विश्वस्त छन् ।

उनले धेरैपटक सार्वजनिक रूपमा त्यस्तो अभिव्यक्ति दिंदै आएका छन् । तर, संस्थापन पक्षले फेरि पनि उनीहरूको प्रयासलाई नजरअन्दाज गरेको छ । जुन कुरा मन्त्रिपरिषद्मा सहभागिता गराउने बारेमा झल्किन्छ ।

टिकट वितरणमा एकाधिकार र असमान व्यवहारका कारण पार्टीले सोचे जति परिणाम ल्याउन सकेन । निर्वाचनपूर्वको गठबन्धनको औचित्यलाई पुष्टि गर्ने गहकिलो तथ्य अझै नभेटिएको नेताहरू आफैं स्वीकार गर्छन् । पार्टीका शीर्ष नेताहरू गणितीय जोडघटाउमा व्यस्त रहँदा आमकार्यकर्ता भने परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने, सुशासन, समुन्नति मार्गले सार्थकता पाओस् भन्ने थियो । तर, त्यस्तो अनुभूति हुने लक्षण देखिंदैन ।

पछिल्लो सत्ता पुनरागमनपछि मन्त्रिपरिषदमा सामेल भएका नेताहरूबाट आमअपेक्षा चुलिंदो छ । तर, सत्ता सहकार्यबाट निकै उपलब्धिमूलक डेलिभर हुनेमा आशंका बढिरहेको छ । पटक-पटक सत्तामा रहेर पनि आमअपेक्षालाई सम्बोधन गर्न सकेन भने कांग्रेसको क्षयीकरण कसैले रोकेर रोकिंदैन । त्यसको सबैभन्दा असर महामन्त्रीद्वयको पुस्तालाई हुनेछ । अघिल्लो पाका पुस्ताले पटक-पटक लाभ उठाइरहेको सन्दर्भमा महामन्त्रीद्वयमा आमभरोसा अडिएको छ । त्यो भरोसा भत्कियो भने अनपेक्षित परिणाम आउन सक्छ ।

वैकल्पिक राजनीतिका रूपमा उदीयमान दलहरू डेमोक्रेटिक धारमा देखिएका छन् । यसको जोखिम कांग्रेसले नै आफ्नो मत गुमाएर व्यहोर्नुपर्ने हुनसक्छ । आशा गरेका नयाँ पुस्ताका नेताबाट नवीनता देखिएन भने एकातर्फ पुरानो र ठूलो पार्टीलाई हावाको वेगले बगाउने छ, सँगै नयाँ दललाई अनुकूलता बढ्ने छ । यसबाट देश पटक–पटक फरक–फरक व्यवस्थाहरूको प्रयोग मात्र हुनेछ र नागरिकको जीवनस्तरमा कुनै महत्वपूर्ण सकारात्मक बदलाव आउने छैन ।

पार्टीभित्र निर्णायक हस्तक्षेप हुन सकेन भने कांग्रेसको अस्तित्वमा नै धक्का पुग्न सक्छ । अब कांग्रेसको विकल्प कि सुध्रिनुपर्छ कि सकिनु । लोकतान्त्रिक मूल्यमान्यता, प्रगतिशील मुद्दासहितको पार्टी खोजिरहेका मतदातासँग विकल्प र समय दुवै छैन ।

पछिल्लो समय नातावाद, परिवारवाद र कृपावादको मौलाउँदो प्रवृत्तिका कारण पार्टीभित्र योग्य व्यक्तिहरूलाई आकर्षण गर्नेभन्दा पनि लखेट्ने प्रवृत्ति बढिरहेको छ । त्यसले पार्टीलाई नवीनतातिर लैजानबाट रोकिरहेको स्पष्ट देखिन्छ । एक व्यक्ति अवसरका लागि पार्टी छोड्नु ठूलो कुरा होइन, तर यसले आम कार्यकर्तामा पर्ने प्रभाव महामन्त्रीद्वयका लागि निकै भारी पर्ने महापरीक्षा हो ।

अहिलेको तन्नेरी नवपुस्ता राजनीतिक आलोचनामा भन्दा नतिजामा केन्द्रित देखिन्छ । इतिहास भजाएर बाँच्ने अभ्यास नयाँ पुस्ताले रुचाएको छैन । व्यवस्था बदल्ने संघर्षमा होमिएको योगदान महत्वपूर्ण थियो र अझै पनि छ । तर, त्यो समयको माग थियो । अहिलेको समयको माग फरक छ । यो यथार्थ महामन्त्रीद्वयले बुझ्नुपर्छ ।

संसारबाट सिकौं

विश्वभरि नै नयाँ राजनीतिक तरङ्ग देखिएको छ । छोटो समयमा नै राजनीतिक सफलतासहित राज्य सत्ताको नेतृत्वमा पुगेका लोभलाग्दा उदाहरण हामीमाझ देखिएका छन् । बेलायतमा ऋषि सुनक, फ्रान्समा इमानुअल म्याक्रोन, क्यानडामा जस्टिन ट्रुडो, फिनल्याण्डमा सान्ना मरिन, न्यूजिल्याण्डमा जेसिन्डा अर्डेन, भारतमा अरविन्द केजरीवाल जस्ता नेताहरूको उदयले शासकीय व्यवस्थाको नवीनतालाई झक्झकाइरहेको छ । यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यदि पार्टीभित्र सकारात्मक हस्तक्षेप हुन सकेन भने यसले पुराना पार्टीको साखलाई उडाएर टाढै नपुर्‍याउला भन्न सकिन्न ।

त्यसका केही सांकेतिक नतिजाहरू पछिल्लो चुनावमा पनि देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी जन्मिएका छन् । अर्कातर्फ, कांग्रेसले गठबन्धन गरेर निर्वाचनमा जानु र एमाले एक्लै चुनावी मैदानमा उत्रिए पनि नतिजामा कति फरक देखिएको छ भन्ने मूल्यांकन अर्थपूर्ण हुन्छ । ओलीले पार्टी कब्जा गरे, अलोकतान्त्रिक भए भने पनि पार्टीमा एकताबद्ध सन्देश त दिएका छन् । निर्वाचनबाट फर्किने बित्तिकै मिसन ग्रासरुटबाट पार्टीलाई केन्द्रदेखि वडासम्म नै विचार विमर्शमा चलायमान गराएका छन् ।

हिजो कांग्रेसको सुरुवाती विकल्पमा एमाले थियो । साठीको दशकमा कांग्रेस र एमालेको विकल्पमा माओवादी उत्रियो । अहिले कांग्रेस, एमाले र माओवादीको विकल्पमा नयाँ पार्टीहरू उभिंदै छन् । एमाले पार्टी विघटन र माओवादीको मत क्षयीकरण भए पनि तुलनात्मक रूपमा त्यसको असर एमाले र माओवादीमा भन्दा कांग्रेसमा बढी छ । नयाँ डेमोक्रेटिक शक्तिका रूपमा उदाएका पार्टीहरूले कांग्रेसको जनाधारलाई प्रभाव पार्ने धेरै सम्भावना देखिन्छ । पार्टीले संगठनमा बलियोसँग बाँध्न नसक्नु र पार्टीमा सम्मानजनक व्यवहार नहुनुको वितृष्णा पार्टी छाडेर पोख्ने जोखिम बढिरहेको छ ।

नयाँ पार्टीले त्यस्ता वितृष्णा बोकेका र असमान व्यवहारबाट पिल्सिएका नेता, कार्यकर्ता लक्षित अफरहरू फिजाउनु स्वाभाविक पनि हो । क्षमता र योग्यता हुने मानिस धीर भएर उपयुक्त समयलाई पर्खिएर बस्न सक्दैन । यो मान्छेको आर्जित गुण नै हो । त्यसैले क्षमताहरूलाई पार्टीभित्र सक्रिय रूपमा उपयोग गरी होल्ड गर्न पार्टी चुक्नुहुँदैन ।

टोल–टोलबाट केन्द्रसम्मै एकताको सन्देश प्रवाह गराउनु महामन्त्रीद्वयको काँधमा आइपरेको महत्वपूर्ण जिम्मेवारी हो । योग्यता र लोकप्रियताको मानांकले सार्थकता पाउन सक्यो भने मात्र महामन्त्रीद्वय यो महापरीक्षाबाट उत्कृष्ट अंकसहित पास हुनेछन् । अन्यथा पार्टीका लागि मात्र होइन कि देशका लागि पनि निकै ठूलो राजनीतिक परकम्पको सामना गर्नुपर्नेछ ।

नयाँ लहरलाई सामान्य रूपमा लिएर नजरअन्दाज गरिनु पनि अर्को चुनौती हुनसक्छन् । विशेषतः वैदेशिक रोजगारीमा रहेको युवा पंक्तिमा सामाजिक सञ्जालमार्फत परिवर्तनको हुटहुटी देखिन्छ । त्यस्तो लहरले गाउँ–शहर सबैतिर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा केही न केही प्रभाव फिजाएको छ ।

यो पृष्ठभूमिमा कांग्रेसका महामन्त्रीद्वयको प्रतिस्पर्धा नवउदय भएको पार्टी रवि र स्वर्णिमहरूसँग हुने स्पष्ट संकेत देखिन्छ । महामन्त्रीद्वयको लोकप्रिय छवि भए पनि पार्टीभित्रको विसंगतिले मतदातामा वितृष्णा देखिन्छ । नयाँ पार्टीले यसलाई आफूतिर आकर्षण गर्ने अनुकूलताको रूपमा सदुपयोग गरिरहेको छ ।

कांग्रेस ‘मास बेस्ड’ पार्टी हो भने एमाले ‘क्याडर बेस्ड’ पार्टी । ‘मास स्विङ’ हुने सम्भावना बढी हुन सक्छ तर क्याडर स्विङ हुने सम्भावना कम हुन्छ । त्यसैले पनि परिवर्तित वेभको लहर कांग्रेसका लागि चुनौतीपूर्ण देखिन्छ । त्यस्तो चुनौतीको सामना र धक्का महामन्त्रीद्वयको पुस्तालाई हुन्छ ।

लोकप्रियतासहित पार्टीमा योगदान र योग्यता हुँदाहुँदै पनि परिवर्तित परिवेशको पदचापलाई बुझ्न सकिएन भने आम कांग्रेसजनमा फेरि पनि नैराश्यता छाउने छ ।

कांग्रेससँग पुरानो र ठूलो पार्टीको संगठन छ तर त्यो सुषुप्त । त्यसलाई जोगाउन र जगाउन निकै मिहिनेत चाहिन्छ । अब कांग्रेसले संसद र सरकार दुवैबाट आम अपेक्षालाई सम्बोधन गर्ने प्रयत्न गर्नैपर्छ ।

प्रभावकारी सरकार, शासकीय नवीनता, आन्तरिक लोकतन्त्र र क्रियाशीलता देखाउन निकै मिहिनेत गर्नुपर्दछ । पर्फमेन्स बेस्ड पोलिटिक्सको उदयको पदचापलाई छोड्नुहुँदैन । नागरिकले सेवाप्रवाहको सुधार र समयमा नै डेलिभरीको आमअपेक्षा छ । त्यसको संयोजनमा कांग्रेस चुक्नुहुँदैन ।

तीनै तहका सरकारमा कांग्रेसको बाहुल्य छ । सरकार र संसदको सबैभन्दा ठूलो दलको हैसियतमा समयानुकूल कानुन निर्माणलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्दछ । सबै तहका सरकारको प्रभावकारिता र नतिजा कांग्रेसले देखाउन सक्नुपर्दछ ।

घोषणापत्रको निर्माणमा स्थानीयमा गगन थापाको संयोजन र संघ र प्रदेशमा विश्वप्रकाशको सामूहिक प्रयत्नमा गरिएका परिकल्पनाहरूलाई कार्यान्वयनमा ल्याउने प्रयत्न हुनुपर्दछ । विज्ञ र नेताहरूद्वारा हासिल गर्न सकिने तथ्यमा आधारित घोषणालाई कांग्रेस सरकारमा सामेल भएपछिको प्रतिफल देखाउन चुक्नुहुँदैन ।

कांग्रेस कोर्स करेक्सनको निकै महत्वपूर्ण घडीमा उभिएको छ । यस्तो अवस्थामा महामन्त्रीद्वयको क्षमता र योग्यता पार्टी रूपान्तरणमा देखिनुपर्दछ । केन्द्रदेखि वडासम्म नै संगठनका विभाजित मनस्थितिलाई समानता, एकता र समृद्धिमा जोड्ने महाअभियानको सुरुवात गर्न महामन्त्रीद्वयले ढिला गर्नुहुँदैन ।

टोल–टोलबाट केन्द्रसम्मै एकताको सन्देश प्रवाह गराउनु महामन्त्रीद्वयको काँधमा आइपरेको महत्वपूर्ण जिम्मेवारी हो । योग्यता र लोकप्रियताको मानांकले सार्थकता पाउन सक्यो भने मात्र महामन्त्रीद्वय यो महापरीक्षाबाट उत्कृष्ट अंकसहित पास हुनेछन् । अन्यथा पार्टीका लागि मात्र होइन कि देशका लागि पनि निकै ठूलो राजनीतिक परकम्पको सामना गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?