+

फोक्सोले कसरी काम गर्छ ?

२०८० वैशाख  ४ गते १२:५३ २०८० वैशाख ४ गते १२:५३
फोक्सोले कसरी काम गर्छ ?

फोक्सो शरीरको मुख्य अंग हो, जसले श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका खेल्छ । बढ्दो प्रदूषण, धुलो–धुवाँ, धुम्रपान, गलत खानपानले फोक्सोलाई असर पारिहेको छ । जसकारण फोक्सोसम्बन्धी विभिन्न रोगको समस्या बढ्दै गएको छ ।

तर थोरै सावधानी अपनाएमा मात्रै पनि फोक्सोसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

फोक्सोको संरचना र काम

मानव शरीरमा छातीभित्र दायाँ र बायाँ गरेर दुईवटा फोक्सो हुन्छ । दुवै फोक्सोको आकार बराबर हुँदैन । दायाँ फोक्सो बायाँ फोक्सो भन्दा अलिकति ठूलो हुन्छ । फोक्सोमा पुग्ने नली पनि छातीभित्र नै हुन्छ ।

श्वासप्रश्वास नली नाक र मुखबाट सुरु हुन्छ । हावा हाम्रो नाकबाट घाँटी हुँदै छातीको भित्री भागमा पुग्छ र दुईवटा फोक्सोमा बाँडिन्छ । यसको संरचना रुखको हाँगा जस्तो हुन्छ । विभिन्न साना ट्युबहरु हाँगा फैलिए जसरी सम्पूर्ण फोक्सोमा फैलिएको हुन्छ ।

फोक्सो श्वासप्रश्वास सम्बन्धी अंग हो । हाम्रो शरीरलाई मुख्य रूपमा चाहिने तन्तु र कोषिकालाई आफ्नो काम गर्न अक्सिजनको आवश्यकता पर्छ । अक्सिजनले शरीरमा इन्धनको रूपमा काम गर्छ र अक्सिजनलाई शरीरमा पुर्‍याउने काम फोक्सोले गर्छ ।

शरीरको श्वासप्रश्वास प्रक्रियामा कार्बनडाइअक्साइड ग्यास उत्पादन हुन्छ । त्यसलाई बाहिर फाल्ने काम फोक्सोले नै गर्छ । यसले वायुमण्डलबाट अक्सिजन लिन्छ र रक्तसञ्चारमा प्रवाह गर्छ । रगतबाट कार्बनडाइअक्साइड निकालेर वायुमण्डलमा छोड्छ । फोक्सोको काम रगत शुद्ध गर्ने पनि हो ।

फोक्सोमा देखिने समस्या

फोक्सोमा अल्पकालीन र दीर्घकालीन दुवै प्रकारको असर देखा पर्छ । वातावरण प्रदूषणको कारणले हामीले सास फेर्ने हावामा अक्सिजनका साथै विभिन्न नकारात्मक ग्यास पनि हुन्छ, जुन हामीले सास फेर्दा सिधै फोक्सोमा पुग्छ । धुम्रपान गर्ने व्यक्तिमा धुवाँ सिधै फोक्सोमा पुग्ने भएकाले विभिन्न समस्या देखापर्ने हुन्छ ।

फोक्सोको माध्यमबाट नै हाम्रो शरीरभरि अक्सिजन पुग्ने भएकोले फोक्सोमा समस्या हुँदा श्वासप्रश्वासमा नै समस्या हुन्छ । कोरोना संक्रमणका बेलामा धेरै जनालाई अक्सिजन कम भएको थियो । फोक्सोमा निमोनिया हुँदा अक्सिजन प्रवाह हुँदैन र शरीरमा पुग्दैन । जसले गर्दा फोक्सोमा समस्या भए यसको असर शरीरभरि नै पर्छ ।

धुवाँ र धुलोका मसिना कणहरू फोक्सोमा गएर जम्मा हुन्छ । जसले गर्दा फोक्सोमा विभिन्न प्रकारको संक्रमण हुन सक्छ । लामो समय धुम्रपान गरेका मान्छेमा पनि त्यो धुवाँको कारण फोक्सोमा असर गर्छ ।

हामीले सास फेर्दा निमोनिया, कोभिड, इन्फ्लुएन्जा र क्षयरोगका कीटाणुहरू फोक्सोमा गइरहेको हुन्छ । त्यसले प्रत्यक्ष रूपमा फोक्सोलाई असर गरिरहेको हुन्छ । फोक्सोमा भएको रोगप्रतिरोधात्मक क्षमता मार्फत फोक्सोमा थोरै मात्रामा खकार दैनिक बनिरहेको हुन्छ । खकार खोकीको माध्यमबाट बाहिर निस्किन्छ । तर विभिन्न कारणले फोक्सोको त्यो रोग प्रतिरोधात्मक क्षमतामा समस्या आयो भने छातीको संक्रमण, सीओपीडी र दमको समस्या हुन्छ ।

फोक्सोलाई स्वस्थ राख्ने उपाय

धुम्रपान र फोक्सोको क्यान्सर एकअर्कासँग सम्बन्धित छन् । धुम्रपान फोक्सोको लागि मात्र नराम्रो होइन, यसले मानिसको सम्पूर्ण श्वासप्रश्वास प्रणालीलाई नै प्रभाव पारेको हुन्छ । त्यसैले फोक्सोलाई स्वस्थ राख्न धुम्रपान त्याग्नुपर्छ ।

केही शारीरिक अभ्यासले पनि फोक्सोलाई सही अवस्थामा राख्न मद्दत गर्छ ।  छिटो छिटो श्वास फेर्ने अथवा बिस्तारै श्वास फेर्नाले फोक्सोलाई सहज बनाउँछन् । प्रदूषणमा बाहिर निस्कनुले हाम्रो फोक्सोलाई प्रभाव पार्छ । एकदमै धेरै सवारी साधन भएको ठाउँमा र धुम्रपान गरिरहेका व्यक्तिको साथबाट सकेसम्म धेरै टाढा बस्नुपर्छ ।

फोक्सोलाई स्वस्थ राख्न खानपानमा पनि ध्यान दिनुपर्छ । प्रशस्त मात्रामा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा, फलफूल, तरकारी खानुपर्छ । विभिन्न संक्रमणबाट बच्न पटकपटक हात धुने, मास्कको प्रयोग गर्ने, खोक्दा तथा हाच्छ्युँ गर्दा रुमालले छोप्ने गर्नुपर्छ ।

(वरिष्ठ छातीरोग विशेषज्ञ डा. ढुंगाना वीर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. अशेष ढुंगाना फोक्सो
डा. अशेष ढुंगाना
लेखक
डा. अशेष ढुंगाना
छातीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७०२० अध्ययन : एमडी (मेडिसिन), डीएम (पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन) हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन तथा वीर अस्पतालमा छातीरोग विशेषज्ञका रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?