+
+

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १७:०५

४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले जसरी काम गर्नु पर्ने हो, त्यस अनुसार गर्न नसकेको स्वीकार गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु,’ उनले भने, ‘सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौती छ ।’

नीतिगत रुपमा धेरै कुरा भने पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएको समेत बताए । तर केही नहुने अवस्थामा पुगिसकेको भने छैन भन्दै उनले अगाडि भने, ‘केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ ।’

महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै उनले देशको अर्थ व्यवस्थाबारे नेतृत्व जानकार रहेको समेत बताए । समस्या समाधानमा पहल गर्न आह्वान गर्दै उनले अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय आएको बताए ।

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीतिक विषय र आर्थिक दायित्वबीचको तादम्य नहुँदा कतिपय समस्या सिर्जना भएको उनको भनाइ छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ सँगसँगै लैजान नसकिएको उनले बताए । राजनीतिक निर्णय एकपछि अर्को हुँदै गएको र त्यसमा प्रतिस्पर्धा हुँदा परिवेश र वास्तविकता अर्कै बनेको बताए ।

यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’ निजी क्षेत्रले वास्तविकता यो हो भनेमा सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?