
४ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका राष्ट्रिय परिचयत्रको वितरण कार्य सुरु भएको हो ।
गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ८ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि राष्ट्रिय परिचयपत्र वितरण काय सुरु भएको हो ।
जिल्लामा २०७७ माघ १० गते तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचयपत्र दिएर वितरण सुरु गरिएको थियो । तर सर्वसाधारणको लागि भने वितरण कार्य गर्न सकिएको थिएन ।
विवरण दर्ता गराएको झण्डै ४ वर्षपछि मात्रै सर्वसाधारणले राष्ट्रिय परिचयपत्र पाउन थालेका हुन् । सर्वसाधारणले पहिलोपटक डिजिटल प्रविधिको परिचयपत्र पाएपछि स्थानीय खुसी छन् ।
परिचयपत्र पाउनेहरु यसको प्रयोग सबै ठाउँमा हुनुपर्ने परिचयपत्र लिन आएकी रञ्जना अर्यालले बताइन । यो परिचयपत्र बहुउपयोगी भएकाले निकै महत्वपूर्ण भएको उनले बताइन ।
गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका दर्ता संकलन अपरेटर सुनिता कँडेलले बताइन् ।
जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा हालसम्म ४४ हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् ।
जसमध्ये ८ हजार ७४ जनाको परिचयपत्र बनेर आएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । पहिलो चरणमा स्थायी स्टेशनबाट ल्याइएका विवरणहरुको कार्ड बनेर आएकाले वितरण भइरहेको पाठकले बताए ।
प्रशासन कार्यालयले दैनिक ५० जनाका दरले वितरण गर्न थालेको प्रशासन कार्यलयले जनाएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनु पर्ने प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन ।
जैविक विवरण अन्तर्गत औंठाछाप, दुईवटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ ।
प्रतिक्रिया 4