
४ वैशाख, धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका १८ विद्यालयको नतिजा शून्य आएको छ ।
धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार नगर क्षेत्रका १७ सामुदायिक र एउटा संस्थागत गरी १८ विद्यालयका कुनै पनि विद्यार्थी ९ कक्षा पढ्न योग्य नभएका हुन् ।
उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक नरेन्द्रबहादुर खातीले परीक्षामा सहभागी १०६ विद्यालय मध्ये १८ विद्यालयको नतिजा निराशाजनक आएको बताए ।
उनका अनुसार पुनः उत्तरपुस्तिका जाँच र ग्रेड बृद्धिको परीक्षा हुन बाँकी रहेकाले शून्य नतिजा आएका विद्यालयले सुधार गर्ने मौका रहेको छ ।
परीक्षामा सामुदायिकतर्फका ४६ र संस्थागततर्फ ६० गरेर कुल १०६ विद्यालयका चार हजार ६३८ विद्यार्थी सहभागी भएका थिए ।
उनीहरु मध्ये एक हजार पाँच सय ३ जनाले मात्र पहिलो चरणमै ९ कक्षामा भर्ना हुन पाउनेगरी ग्रेड कटाएका छन् ।
प्रतिक्रिया 4