+

आफूखुसी खाँदा हानिकारक हुन्छ घिउकुमारी

२०८० वैशाख  ५ गते १८:०५ २०८० वैशाख ५ गते १८:०५
आफूखुसी खाँदा हानिकारक हुन्छ घिउकुमारी

काठमाडौं । घर, करेसाबारी, बगैंचामा पाइने घिउकुमारीको औषधीय गुणबारे हामीले धेरै सुन्दै आएका छौं । यसले विभिन्न रोग नियन्त्रणमा फाइदा गर्नेदेखि घाउ, चोटपटक लागेको ठाउँमा मलमको काम गर्नेमा कुनै शंका छैन ।

जसकारण धेरैले आफूखुसी घिउकुमारी खाने गरेको पाइन्छ । तर आफूखुसी घिउकुमारी खाँदा यसले शरीरलाई पुर्‍याउने हानिबारे भने धेरैलाई हेक्का नहुन सक्छ ।

खान नजान्दा विष

आयुर्वेदिक डा. पुनेश्वर केशरी मनपरी घिउकुमारी खाँदा विषसरह हुने बताउँछन् ।  ‘घिउकुमारी कुनै रोग विशेषको लागि खान जान्यो भने औषधिको काम गर्छ, तर जथाभावी निरन्तर खाँदा यसले शरीरलाई फाइदा गर्नुको साटो हानि गर्छ,’ उनी भन्छन् ।

लामो समयसम्म घिउकुमारी खाँदा पत्थरी हुने, कलेजोको छान्ने प्रक्रियामा समस्या ल्याउने, डिहाइड्रेसन गराउने, पखाला गराउने लगायत समस्या निम्त्याउने डा. केशरी बताउँछन् ।

दीर्घरोगीलाई घिउकुमारी फाइदाजनक भए पनि मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी एलोपेथिक औषधि खाइरहेका छन् भने चिकित्सकको निगरानीमा मात्रै घिउकुमारी सेवन गर्नुपर्छ ।

घिउकुमारी खाँदा मात्रा नभएर यो कुन माटोमा कस्तो किसिमले हुर्किएको छ ? भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।  ‘विषादी प्रयोग भएको माटोमा उम्रिएको घिउकुमारी, कलकारखाना वरपर उम्रिएका घिउकुमारीमा पनि रसायनहरु मिसिएको हुन सक्ने हुँदा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्छ,’ डा. केशरी भन्छन् । विषादी प्रयोग नभएको घरआँगनमा रोपेको घिउकुमारी स्वास्थ्यवद्र्धक हुने उनी बताउँछन् ।

फाइदा

घिउकुमारीमा एलोहिन, पानी, क्याल्सियम, फोलिक एसिड, म्याग्नेसियम, भिटामिन सी, भिटामिन ए र भिटामिन ई पाइन्छ । त्यस्तै, महिनावारी हुँदा अधिक मात्रामा रक्तश्राव हुने, अत्यधिक पेट दुख्ने समस्यामा पनि घिउकुमारी खाँदा लाभदायक हुन्छ ।

घिउकुमारी कलेजोको विकार हटाउने, शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने, पाचनप्रणालीलाई सुधार गर्ने, पिसाबसम्बन्धी समस्या कम गर्ने, भोक जगाउने, मोटोपन घटाउने, दम रोग र खोकी लाग्ने समस्यामा पनि प्रभावकारी हुने डा. केशरी बताउँछन् ।

घिउकुमारी खानु मात्र होइन, यसलाई छालामा लगाउन पनि सकिन्छ । काटेको, पोलेको ठाउँमा लगाउँदा जीवाणुले संक्रमण गर्न पाउँदैन । यसले छालामा आफ्नै एउटा तह बनाउँछ र छाला सुख्खा हुन दिंदैन र घाउ पनि छिटो निको हुने उनी बताउँछन् । यसमा पाइने एन्टिअक्सिडेन्टले अनुहारमा लगाउँदा अनुहारलाई मुलायम बनाउने र छायापोतो जस्ता छालासम्बन्धी समस्या पनि हटाउने डा. केशरी बताउँछन् । त्यसैले प्रायः सबै मोइस्चराइजर र फेसवासमा घिउकुमारीको प्रयोग भएको हुन्छ ।

कसरी खाने घिउकुमारी ?

डा. केशरीका अनुसार घिउकुमारी रोग विशेष अनुसार खानुपर्छ । यसको बोक्रा निकालेर भित्रको गुदीको जुस बनाएर वा गुदी नै पनि  खान सकिन्छ । स्वस्थ व्यक्तिले दैनिक ४० एमएलसम्म खान सकिन्छ । जुस नबनाइ त्यसको लेदो खाने हो भने पाँच ग्राम भन्दा बढी खान हुँदैन ।

रोग र शरीरको प्रकृतिअनुसार यसको प्रयोगको मात्रा निर्धारण हुने हुँदा स्वस्थ व्यक्ति होस् वा कुनै रोग छ भने चिकित्सकको सल्लाह र परामर्शमा मात्र खान सकिन्छ । तर नियमित रुपमा अत्यधिक घिउकुमारी शरीरको लागि विषसरह हुने उनी बताउँछन् ।

यी अवस्थामा खानु हानिकारक

गर्भवती महिलाले अत्यधिक घिउकुमारी सेवन गर्दा गर्भमा रहेको शिशुको लागि खतरा साबित हुन नसक्ने केही अध्ययन-अनुसन्धानले देखाएको डा. केशरी बताउँछन् । त्यसबाहेक पाठेघरभित्र ट्युमर भएका महिला, पखाला लागेको बेला, गलब्ल्याडरको पत्थरी, घिउकुमारीको एलर्जी भएका व्यक्ति, शरीरमा पोटासियमको कमी र मिर्गौलामा समस्या देखिएकाले पनि यसको सेवन गर्न हुँदैन ।

खानेकुरा घिउकुमारी
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?