
५ वैशाख, तनहुँ । आडैबाट कलेस्ती खोला बगिरहेको छ । अर्कोतिर मादी नदी सुसाइरहेको छ । खोला र नदीको बीचमा माझफाँट भने सिंचाइ नपाएर सुख्खा छ । नेताहरूप्रति गाउँलेको बोली कसरी रसिलो बनोस् !
वर्षौंदेखि आश्वासनको ‘ओभरडोज’ ले टर्रा बनेका गाउँलेलाई सुन्न अनलाइनखबरको टोली तनहुँको यो गाउँ पुगेको छ । उनीहरू एकपछि अर्को गाली बर्साइरहेका छन् । लाग्छ, भाषामा सभ्यताको खोजी केवल पुगिसरी आएकाहरूको तर्फबाट हो ।
‘कति सालअघिदेखि एजेण्डा बनिरहेको छ कि कलेस्ती खोलाको पानी लिफ्टिङ गरेर ल्याउने । तर चुनावताका भन्छन्, अब कलेस्तीको पानी माझफाँटमा सिंचाइ हुन्छ तर माझफाँट सधैं सुख्खा रह्यो’ स्थानीय गोपीलाल कुमाल भन्छन्, ‘बिजुलीको पोलसम्म छैन, ट्रान्समिटर नहुँदा उस्तै समस्या छ । अब कुनै उम्मेदवारको विश्वासै लाग्न छाड्यो ।’
६ महिनाअघि यसै क्षेत्र अर्थात् तनहुँ–१ बाट चुनिएका रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् । विगतमा उनी पटक–पटक शक्तिको चुलीमा पुगे । उनको गाउँ बाहुनपोखरा यहाँबाट खासै टाढा छैन । माझफाँट, कुमालगाउँ, मोहरियाटारका जनताले उनलाई पटक–पटक जिताए । २०७४ मा भने नेकपा गठबन्धनका किसान श्रेष्ठले जिते । नेताहरूको जितका एकपछि अर्का कथाहरूमा नागरिक भने हारिरहेको अनुभूति गरिरहेका छन् । कुमाल भन्छन्, ‘अहिले फेरि चुनाव आएको छ, अब कुनै एक चाहिंले जित्ने होला । तर, अब हामी पनि हार्न तयार छैनौं ।’
यसअघि भन्दा यो उपचुनावमा माझफाँट, मोहोरियाबेसीका मतदाताले फरक अनुभव गरिरहेका छन् । नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी पनि नयाँ चुनावी नारा लिएर गाउँ पुगिरहेको छ । यसअघि पटक–पटक चुनाव जितेको कांग्रेस र २०७४ को चुनाव जितेको वाम गठबन्धनको एक नेकपा एमाले पनि समृद्धिको सपना गाउँलेलाई बाँडिरहेको छ ।
कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले यहाँबाट उम्मेदवार छन् । माझफाँटवासी यसपटक मझधारमा छन् । ‘हाम्रा लागि विकास, उद्यम र रोजगारी पानीको तिर्खा झैं भइरहेको छ, जस्तो तिर्खा उम्मेदवारको जितेर जाने छ’ राजेश कुमाल भन्छन्, ‘यसअघि जितेका कांग्रेसमै लाग्नेहरू पनि छन्, नयाँ पार्टीको घण्टीको माहोल पनि छ, प्रहरी प्रशासन चलाएर आएका पनि नराम्रा छैनन् । यो बीचबाट हाम्रा लागि यसपटकको निर्णय महत्वपूर्ण छ ।’
****
कांग्रेसका पूर्व सह–महामन्त्री तथा पटक–पटक त्यही क्षेत्रबाट चुनाव जितेर ६ पटकसम्म मन्त्री बनेका गोविन्दराज जोशीको जन्मगाउँ रूपाकोटमा चुनावी अभियानमा थिए, गोविन्द । भानुकै जन्मस्थल आसपास, सेफा बगैंचा, कुमाल गाउँमा चुनावी सभा गर्दैथिए, एमालेका सर्वेन्द्र । यही ठाउँतिर ३ दिनअघि मात्र बिर्खे टोपी लगाएर स्वर्णिम वाग्ले र सभापति रवि लामिछाने चुनावी सभा गरेर फर्किएका थिए ।
तीनै जना उम्मेदवारको प्रमुख एजेण्डा थियो— भानु जन्मस्थललाई पर्यटकीय तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने । भानुका मतदातालाई पनि खानेपानी र सिंचाइकै दुःख छ । बर्सेनि चितुवाले बालबच्चा खाइदिएको छ । अहिलेसम्म तनहुँमा १४ जना बालबालिका चितुवाको सिकार बनिसकेका छन् । सोमबार एक जना बालक सोही ठाउँमा चितुवाको आक्रमणमा परे । तनहुँ–१ का भानुमा ६, बन्दीपुर गाउँपालिकामा ४, आँबुखैरेनीमा १, व्यासमा १ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाए ।
भानुको वडा नम्बर १ देखि ४ सम्ममा चितुवाको आतंकै छ । अहिले पनि कुनबेला बाघ आएर कसको बच्चालाई आक्रमण गर्छ भन्ने डरले सताइरहने स्थानीय डिलमाया राई बताउँछिन् । ‘३ सालअघि ६ वर्षीय नातिलाई खेलिरहेका बेला पिंढीबाटै खोसेर लग्यो । म चितुवालाई पछ्याउँदै गएँ, रुँदै–कराउँदै जाँदा चितुवाले नातिलाई घाइते बनाएर छोडेछ’ डिलमायाको क्रन्दन छ, ‘अहिले पनि चितुवाको डरले तर्साइरहन्छ । यही बेला चुनाव लागिरहेको छ । नेताहरू भोट माग्दै आइरहेका छन्, मेरो आग्रह छ, चितुवाबाट बचाइदेऊ ।’ स्थानीयका अनुसार अहिलेसम्म भानुमा मात्र चितुवाको आक्रमणबाट १२ जना घाइते भइसकेका छन् ।
मानव–वन्यजन्तु द्वन्द्वबारे उम्मेदवारका भने मूल एजेण्डा नै छैनन् । तनहुँ भानुमा आइतबार सम्साँझैमा भएको कोणसभामा एमाले उम्मेदवार सर्वेन्द्र खनालले सडक, खानेपानी, कृषि, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने भाषण गरे । ‘एक पूर्व आईजीपीलाई थाहा छ, देश कसरी चलाउनुपर्छ, मलाई मत दिएर जिताएर पठाउनुस्, म सधैं तपाईंहरूसँगै हुनेछु’ सर्वेन्द्रले भने, ‘म कसम खाएर भन्छु, नराम्रो काम एक गर्दिनँ, दुई गर्दिनँ, तीन गर्दिनँ !’
भानु जन्मस्थलको विकास गर्ने बताइरहेका सर्वेन्द्रसँग आमसभा सकिएपछि हिरा कुमालले चितुवाको डर, समाजघर र अझै पानीको समस्या समेत रहेको सुनाइन् । सर्वेन्द्रसँगै रहेका अर्का व्यक्तिले जवाफ दिए, ‘दाइलाई जिताएर पठाउनुस्, सबै काम हुन्छ ।’
सर्वेन्द्रसँगै कांग्रेसका भट्टराई र रास्वपाका स्वर्णिमको एजेण्डा पनि यिनै हुन् । उनीहरूलाई चुनावी अभियान लिएर ग्रामीण वडाहरूमा पुग्न ताउरमाउर छ । उम्मेदवारहरूले आर्थिक विकास, समृद्धि, सुशासनका नारा घन्काइरहेका छन् । मतदाताका असीमित चाहना देखिन्छन् । उनीहरू चाहन्छन्, आजको भोलि तनहुँ–१ मा छुमन्तरले विकास हुन्छ, समस्या हट्छ र उम्मेदवारले पनि भनिरहेका छन्, ‘हामीले जित्यौं भने सबै समस्या हटाउँछौं ।’
२०४८ सालताका उम्मेदवारका एजेण्डा यही बाटोघाटो, बिजुली, पुल–पुलेसो भन्दा अन्यत्र गएको छैन । तर, अहिले सबैजसो गाउँमा मोटरबाटो पुगेका छन् तर बर्खामा चल्ने स्थितिमा छैनन् ।
तनहुँ–१ मा ब्यास र भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिका पर्छन् । पृथ्वी राजमार्गले बीचबाट चिरेर गएको जस्तो देखिए पनि यो क्षेत्रभित्र भूगोलका हिसाबले मिनी कर्णाली भन्न सकिने ठाउँहरू रहेको उम्मेदवार स्वर्णिमदेखि सबैको भनाइ छ ।
तनहुँ–१ व्यास नगरको ५ र ६ नम्बर वडा बाहेक १२ वटा वडा यो क्षेत्रमा पर्छ । प्यासी बनेर रित्तिएको व्यास नगरपालिकाको मानुङकोट अझै बौरिएको छैन । व्यासको माझफाँट, कुमालटारी, भादगाउँ जस्ता शहरी टारहरू सुख्खा छन् । तनहुँसुर, सतिस्वाँरा, क्यामिन, पोखरीभन्ज्याङ, राष्ट्रपतिकै गाउँ रिस्तिका मतदाता खानेपानीदेखि स्तरीय शिक्षा, स्वास्थ्यको माग गरिरहेका छन् । बैदी, कोटा, छिपछिपे र देवघाट मिलेर बनेको देवघाट गाउँपालिकाले यो क्षेत्रको सुविधा भोग नै गर्न नपाएको स्थानीय मनिराज गुरुङ बताउँछन् ।
‘कोटा, बैदीमा जहिले पनि गाडीमै पुग्न समस्या छ । बर्खामा त गाडी नै चल्दैन’ मनिराजले भने, ‘देवघाट जान त अहिले पनि चितवनबाट घुम्नुपर्छ ।’ तनहुँको आँबु र बन्दीपुर गाउँपालिकामा पनि विगत बस्तीहरू छन् । भानुका हरिशचन्द्र ढकाल मतदातामा असीमित चाहना र नेपालको राजनीतिप्रतिकै वितृष्णा रहेको बताउँछन् ।
‘घरीघरी त मलाई झोंकै चल्छ, चुनावमा आयो जे पनि गर्छु भन्यो, गयो । नयाँ भनेका पार्टीले पनि सबै गर्छु भनिरहेका छन्, कहाँबाट कसरी गर्ने हो भन्ने थाहा छैन’ हरिशचन्द्रको आक्रोश छ, ‘सबै सुविधा पुगेकै शहरका जनता पनि दलप्रति खुशी छैनन् । देशप्रति नै आक्रोश छ । मतदातामा देश फेरिएको हेर्ने प्यास छ । तर, यो देश बदलिन्नँ भन्ने युवा धेरै छन् ।’ हरिशचन्द्रका अनुसार जनता अब आश्वासन मात्र विश्वास गर्दैनन्, व्यक्तिसमेत हेर्न थालिसकेका छन् ।
तनहुँ–१ मा १ लाख २३ हजार ३०० मतदाता छन् । अघिल्लो चुनावमा २५ हजार ३१८ मत ल्याएर रामचन्द्र पौडेलले चुनाव जितेका थिए । एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए । पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । रास्वपाका विकास सिग्देलले तनहुँ–१ मा ६ हजार ३०० ल्याएका थिए । मतदाता फकाउन उम्मेदवारले यसपटक थुप्रै एजेण्डा पस्किरहेका छन् तर उनीहरू केही नयाँ सन्देश दिन तम्तयार छन् ।
‘थुप्रै चुनाव आए–गए, डुम्रे बजार मैलोको मैलै, धुलाम्मेको धुलाम्यै ।’ आइतबार एकाबिहानै एमाले उम्मेदवार सर्वेन्द्र खनाल एक लट भोट मागेर डुम्रे बजारतिर लागेपछि सुमन श्रेष्ठले नयाँ उखान सुनाए । हिजो पनि यहींबाट भोट माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले गए । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई यही बाटो भोट माग्दै ओहोर–दोहोर गरिरहेका छन् ।

तनहुँ–१ मा मतदातालाई पनि चुनावले लछप्पै छोपिसकेको त छ तर विकास र सेवा व्यवस्थित होला भन्ने उतिसाह्रो उत्साह चाहिं छैन । ३ दिनदेखि तनहुँको मौसम तुवाँलोले डम्मै छ, मतदाताको मन पनि अहिलेको राजनीतिप्रति उज्यालिएको छैन ।
‘अव्यवस्थित शहर हेर्नु परे डुम्रे जानु’ भन्ने विम्ब बन्न थालेकोमा चिन्ता व्यक्त गर्दैथिए, आशिष जोशी । ‘चुनावमा सबै उम्मेदवार आउँछन्, शहर र विकास व्यवस्थित बनाउँछु भन्छन्, जान्छन् तर अवस्था जस्ताको तस्तै’ जोशीले सुनाए, ‘नपत्याए चुँदी खोलातिर हेर्नु, बसपार्क खोज्नु, मापदण्ड बुझ्नु ।’
२०२९ सालतिर पृथ्वी राजमार्ग खुलेसँगै फाट्टफुट्ट बन्न थालेका घर अहिले बजारै बनिसकेका छन् । लमजुङको बेशीसहर, तनहुँकै भानु नगरपालिका, नदीपुर बजार, गोरखाको पालुङटार नगरपालिका लगायत ठाउँ छिर्ने गेट डुम्रे अहिले अव्यवस्थित बन्दै गएकोमा डुम्रेलीहरूको चिन्ता थियो ।
एकातिर पृथ्वी राजमार्गको मापदण्डले हानेको छ र अर्कोतिरबाट चुँदी खोलाले तानेको छ । तनहुँकै भानु र लमजुङ जाने चुँदी पुल जम्मा एक लेनको छ र नेताहरूको ओहोरदोहोर तथा गाडीको चाप हुँदा पृथ्वी राजमार्गसम्मै जाम भइदिन्छ । ‘पृथ्वी राजमार्ग ६ लेनको बन्दैछ, यसमा १०९ भन्दा बढी घर जाँदैछन् । माथि मापदण्डले खाने भएपछि तल चुँदी खोलामै पिल्लर उठाएर घर बनाइँदैछ’ उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका राजेश श्रेष्ठले भने । श्रेष्ठका अनुसार डुम्रेलाई व्यवस्थित बनाउँछु, सार्वजनिक सम्पत्ति जोगाउँछु भन्नेहरू चुनावमा चुइँक्क बोल्दैनन् । बाहिर एउटा भाषण गरेर भित्र–भित्र मिलिसकेका हुन्छन् ।
‘अव्यवस्थाका विरुद्ध न नयाँ पार्टीका उम्मेदवार बोल्न सक्छन् न पुराना पार्टीका । जतिसुकै सुशासन र व्यवस्थित विकासका कुरा गर्नेहरू पनि सार्वजनिक सम्पत्ति दोहन गर्ने, नियम उल्लंघन गर्ने ठूलो संख्या छ भने बोल्ने हिम्मतै गर्दैनन्’ श्रेष्ठले भने, ‘बेशीसहर जाने पुल, बसपार्क बनाइदिन र डुम्रेमा मापदण्ड कायम गराइदिन भन्छौं, हुन्छ भन्नेहरू अहिले कहाँ छन् कहाँ !’
अघिल्लो चुनावमा भोट हालेर पनि खासै महसुस गर्न नपाएका डुम्रेका मतदाता यसपालि चुपचाप मत बदल्ने मूडमा छन् । ‘यतिबेला मतदाताको मनस्थिति बुझिसक्नु छैन । यसअघि जसलाई मत हालेको भए पनि यसपटक चुपचाप परिवर्तन गर्ने मूडमा छन्’ डुम्रेको एक कपडा पसलमा भेटिएका अनिष जोशीले भने, ‘र्याली, जुलूसमा एउटा पार्टी र मत अर्को पार्टीमा जान सक्छ । मतदाताको मन स्थिर छैन ।’
****
सानो बाँसको लिंगोमा अड्याइएको तारबाट आएको बिजुलीमा जोडिएको स्पिकरबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी संघीय सांसद सोविता गौतम ब्यास–१० कुमालगाउँमा भाषण गर्दै थिइन्, ‘अब तपाईंहरू परिवर्तनका पक्षमा बोल्नुपर्छ ।’ त्यहीं नजिकैको घरको पालीनेर अडेस लगाएर ओममाया कुमाल उनको कुरा सुनेर फुस्फुसाउँदै थिइन्, ‘ए बाबै कति बोलियो बोलियो नि ! बिजुलीको पोल हालिदेऊ, पानी ल्याइदेऊ, छोराछोरीलाई जागिर मिलाइदेऊ भनेर, कोही सुन्दैनन् !’
माझफाँटमा बिजुली त पुगेको छ तर तार अड्याइएको बाँस सानो हावाको झोक्काले पनि ढल्ला र दुर्घटना निम्त्याउला भन्ने जगजगी गाउँलेलाई छ । बिजुलीका पोलहरू पनि लच्किएका छन् र तारहरू खेतबारीका गह्रासम्मै लत्रिएका छन्, जसका कारण कतिबेला कसलाई करेन्ट लाग्ने हो भन्ने डर आफूहरूमा रहेको बिलकुमारी कुमालको गुनासो थियो ।
सोविताले परिवर्तनका पक्षमा बोल्न मतदातालाई सम्झाइरहँदा ओममायाले भने आफ्ना मागहरूमा यसअघि उम्मेदवारहरूले बोलेर पनि पूरा नगरेको सम्झिरहेकी थिइन् । ब्यास नगरपालिका-१० माझफाँटमा ६०/७० घर कुमालका मात्र छन् । उनीहरूका ठूला सपना छैनन्, छोराछोरीको पढाइ, गाउँमा पुगेको बिजुलीको व्यवस्थापन, ट्रान्समिटर, स्तरीय सडक, सिंचाइ आदि नै हुन् ।
छैटौं पटक चुनाव जितेर राष्ट्रपति बन्ने सौभाग्य पाएका रामचन्द्र पौडेलको क्षेत्रका बासिन्दाको गुनासो छ— ‘यो क्षेत्रबाट चुनाव जितेर राष्ट्रपति बन्ने उहाँ पो भाग्यमानी, हामी त जहाँको तहीं छौं नि !’ संसदीय चुनावमा तारेर राष्ट्रपतिसम्म पुर्याइदिएका तनहुँ–१ मा अब आफूहरूलाई तारिदिने हक्की नेताको खोजी भइरहेको गोपीलाल कुमालले बताए ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4