५ वैशाख, काठमाडौं । खुल्लातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैसवाल र महिलातर्फ शीर्ष वरीयताकी सुजना लोहनीले मंगलबारदेखि सुरु २२औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा शीर्ष १० पुरुष तथा महिला खेलाडीको सहभागिता रहेको प्रतियोगिताले राष्ट्रिय टिमको पनि छनोट गर्नेछ ।
प्रतियोगितामा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १, साविक विजेता १ र राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छनोट भएका गरी १० जना खेलाडी सहभागी छन् ।
महासंघले पहिलोपल्ट राउण्ड रोविन प्रणालीका आधारमा च्याम्पियनबीचको च्याम्पियनसिप आयोजना गरेको बताएको छ । प्रतियोगिताको पहिलो दिन खुल्लातर्फ उच्च रेटिङका फिडेमास्टर रुपेश जैसवालले झापाका प्रकाश नेपाललाई पराजित गरी विजयी सुरुवात गरेका छन् ।
फिडेमास्टर क्षितिज भण्डारीले ललितपुरका राजन पुरीलाई हराए । फिडे रेटिङमा उच्च वरीयतामा रहेका विवेक थिङ देशबाहिर रहेका कारण यो प्रतियोगितामा उपस्थित हुन नसकेपछि बैकल्पिक सूचीमा रहेका राजनले अवसर पाएका हुन् ।
पहिलो दिन मंगलबार पूर्व नेपाल च्याम्पियन सुरवीर लामाले केशव श्रेष्ठ, राजन सुवेदीले साविक विजेता पुरुषोत्तम चौलागाईं र पुरुषोत्तम सिलवालले दोलखाका राजीव कार्कीलाई हराएर विजयी सुरुवात गरेका छन् ।
महिलातर्फ शीर्ष वरीयताकी सुजना लोहनी, शान्ति धिमाल, सुशीला गुरुङले पहिलो दिन जित हासिल गरे । सुजनाले मार्सल तामाङलाई हराउँदा शान्तिले पूर्व नेपाल च्याम्पियनसमेत रहेकी सिन्दिरा जोशीलाई पराजित गरिन् ।
सुशीलाले झापाकी पुनम प्रसाईंमाथि जित रचिन् । प्रतियोगितामा महिला र खुलातर्फको विजेताले यसै महिना बंगलादेशमा आयोजना हुने फिडे जोनल ३.२ बुद्धिचाल प्रतियोगिता तथा आगामी जुन ५–१५ सम्म काजाकस्तानमा आयोजना हुने एसियन कन्टिनेन्टल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
उनीहरुले अर्को वर्ष हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडमा पनि सहभागिता सुरक्षित गर्नेछन् । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता वैशाख १० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया 4