
काठमाडौं । अहिलेका धेरै बालबालिकामा मोबाइल र अन्य ग्याजेटको लत नै लागेको छ भन्दा हुन्छ । खाना खुवाउनदेखि अन्य कुरामा समेत उनीहरुलाई मोबाइल नभई हुन्न । मोबाइलमा भिडियो हेर्न र गेम खेल्नमा उनीहरु रमाइरहेका हुन्छन् ।
तर कलंकीको एलआरआई स्कुलमा कक्षा ४ मा पढ्ने सार्थक ढकाल भने प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना साथीहरुलाई युट्युबमार्फत ज्ञान बाँड्दैछन् । आठ वर्षीय सार्थक आफूभन्दा साना कक्षाका र आफ्नै कक्षाका पनि कमजोर साथीहरुलाई सजिलोसँग बुझाउनेगरी युट्युबमार्फत सिकाइरहेका हुन्छन् ।
पढाइमा निकै अब्बल ढकालले स्कुलबाट फर्केपछि पहिलो आफ्नो होमवर्क सकाउँछन् र त्यसपछि भिडियो बनाउँछन् । उनको सिकाउने तरिका कुनै व्यावसायिक शिक्षकको भन्दा कम छैन । ह्वाइटबोर्डमा मार्करले लेखेर सरल र सहज रुपमा उनी पाठ्यक्रमबारे बुझाइरहेका हुन्छन् । उनले कुनै हतार नगरी व्यावसायिक शिक्षकले झैं विषयवस्तुको गहिराइमा पुगेर पढाएको देख्न सक्किन्छ ।
सार्थकले एजुकेसनल च्यानलको रुपमा आफ्नो ‘स्मार्ट सार्थक’ च्यानललाई राखेका छन् । उनका भिडियोमा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित लगायत विषयका अतिरिक्त केही रमाइला भिडियो पनि राखिएका छन् ।
आफूले सिकेको कुरा शिष्ट भाषामा आफ्नो च्यानलमार्फत साथीभाइका लागि पस्किंदा आनन्द आउने सार्थक बताउँछन् । आफ्नो भिडियो आफ्ना साथीहरुले नै निकै मन पराएको भन्दै उनी साथीहरुबाट पनि निकै हौसला मिलेको बताउँछन् । सार्थकका बुवा तुलसीराम ढकाल पनि युट्युबमा लोकसेवा कक्षा तयारीसम्बन्धी भिडियोहरु बनाइरहेका हुन्छन् । बुवाकै कारण आफूलाई भिडियो बनाउन हौसला मिलेको र भिडियो बनाउने काममा ममीले सहयोग गरेपछि सहज भएको उनी बताउँछन् ।
छोरालाई आफ्नो गृहकार्यसहित पठनपाठनका अरु काम सकेर निश्चित समय युट्युब भिडियोका निमित्त कुनै रोकतोक नगरेको तुलसीराम बताउँछन् ।
प्रतिक्रिया 4