६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएई र ओमान विजयी भएका छन् ।
वृत्य अरबिन्द र रोहन मुस्ताफाले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेलेपछि यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको यूएईका अरबिन्दले १८५ र मुस्ताफले ११८ रन बनाएका थिए ।
उनीहरूको शतक मद्दतमा यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको बिशाल योगफल तयार गरेको थियो ।
२४ रन बनाउँदा ३ विकेट गुमाएर दबावमा परेको यूएईका लागि अरबिन्द र मुस्ताफाले चौथो विकेटका लागि २७५ रनको साझेदारी गरेका थिए ।
३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २२८ रन बनाउँदै अलआउट भयो । उसका लागि शैयद मोनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए ।
कतारमाथि ओमानको ४० रनको जित
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमानले कतारलाई ४० रनले हरायो ।
२५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभमार २०९ रनमा अलआउट भयो । उसका लागि कप्तान मोहमद रिजलानले ४३ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनायो । उसका लागि आयन खानले नटआउट ६४ रन बनाए ।
प्रतिक्रिया 4