
६ वैशाख, डोटी । डोटीको बडीकेदार गाउँपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
करीव दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै विप्लव समूहले तालाबन्दी गरेको हो ।
सो पार्टीले गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी छनोटमा मनोमानी गरेको जस्ता आरोप लगाएर १२ फागुनमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।
अहिलेसम्म समस्या समाधानका लागि पहल नभएको भन्दै बुधबार अनिश्चितकालीन तालाबन्दी गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले कार्यालय खुलाउन बन्दकर्ता र जनप्रतिनिधिबीच छलफल भइरहेको बताए । ‘हामी कार्यालयमा काम गर्दै थियौं, उहाँहरु आउनुभयो, कर्मचारी सबैलाई बाहिर पठाएर तालाबन्दी गर्नुभयो’ उनले भने ।
प्रतिक्रिया 4