७ वैशाख, काठमाडौं । सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर सुवास तामाङले जितेका छन् ।
सूर्य नेपाल गल्फ टूरमा सिजनको सातौं प्रतियोगिता जित्ने क्रममा उनले व्यावसायिक गल्फर सञ्जय लामालाई चार स्ट्रोकले पराजित गरेका हुन् ।
सुवासले अघिल्लो सिजन पनि यो प्रतियोगिताको उपाधि जितेका थिए । सुवासले करिअरको चौथो व्यावसायिक उपाधि जितेका हुन् ।
उनले अन्तिम दिन विहीबार ३–अण्डर ६९ को कार्डसहित समग्रमा १३–अण्डर २७५ को कुल स्कोर बनाए ।
समग्रमा दोस्रो भए पनि व्यावसायिक गल्फरमाझ पहिलो बनेका सञ्जयले अन्तिम दिन १–अण्डर ७१ को प्रदर्शनसहित समग्रमा ९–अण्डर २७९ को स्कोर बनाए । उनले १ लाख ४० हजार रुपैयाँ पुरस्कार पाए ।
समग्रमा ४–अन्डर २८४ को स्कोरमा निरज तामाङ र जयराम श्रेष्ठ व्यावसायिकतर्फ संयुक्त रूपमा दोस्रो भए ।
अन्तिम दिन निरजले २–अन्डर ७० र जयरामले ६–अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवैले जनही ७८ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।
समग्रमा २–अन्डर २६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरुपमा चौथो स्थान बाँडे । रमेशले ४–अन्डर ६८ र भुवनले ३–ओभर ७५ मा अन्तिम दिनको खेल सकाए ।
दुवैजनाले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाए । रबि खड्काले समग्रमा इभन–पार २८८ सहित छैटौं भएर ४० हजार ५ सय रुपैयाँ पुरस्कार पाए । अन्तिम दिन उनले ६–ओभर ७८ को खराव प्रदर्शन गरे ।
कमल तामाङ र तोरण विक्रम शाहीले संयुक्तरुपमा सातौं स्थान बाँडे । तोरणले इभन–पार ७२ र कमलले ३–ओभर ७५ को स्कोरमा समग्रमा ४–ओभर २९२ को स्कोरमा प्रतियोगिता सकाए । उनीहरूले जनही ३५ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।
२–ओभर ७४ सहित समग्रमा –ओभर २९६ को स्कोरमा धरानका बलभद्र राई नवौं भए । उनले ३२ हजार रुपैयाँ पुरस्कार पाए ।
समग्रमा १०–ओभर २९ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७–ओभर ७९ खेल्दै पोखराका व्यावसायिक गल्फर भुबहादुर गुरूङ दशौं स्थानमा आए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रो र एमरच्योर दुवैतर्फको उपाधि सुवासले जित्दा युवा गल्फर सदभाव आचार्य एमेच्योरतर्फ दोस्रा भए ।
४–ओभर ७६ मा अन्तिम दिनको खेल सकाउँदा उनले समग्रमा इभन–पार २८८ को प्रदर्शन गरे ।समग्रमा ३–ओभर २९१ सहित टासी छिरिङ तेस्रो भए ।
अन्तिम दिनको खेल सुरूवात गर्दा सुवाससँग २ स्ट्रोकको अग्रता थियो । फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गर्दा उनलाई कुनै पनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन् । उनले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
११औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गर्दै सुवासले एक समय ६ स्ट्रोकको अग्रता बनाइसकेका थिए ।
तर, १५औं होलमा डबल बोगी खेपे भने १८औं होलमा एक सट खेर फाले । कुल ८ लाख नगद पुरस्कार राशीको ७२ होलको प्रतियोगितामा ३१ व्यवसायिक र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4