+

ओमानका कप्तान मक्सुद भन्छन् : लामो समयपछि खेल्दा नतिजा राम्रो रहेन

२०८० वैशाख  ८ गते १८:४६ २०८० वैशाख ८ गते १८:४६
ओमानका कप्तान मक्सुद भन्छन् : लामो समयपछि खेल्दा नतिजा राम्रो रहेन

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समूह एमा नेपालसँग पराजित भएपछि ओमानका कप्तान जिसन मक्सुदले लामो समयपछि प्रतिस्पर्धात्मक क्रिकेट खेल्दा सन्तुलित प्रदर्शनमा कमजोरी भएको स्वीकारेका छन् ।

ओमानले आईसीसी क्रिकेट विश्वकप लिग टूमा अन्तिम खेल सन् २०२२ को जुनमा नेपालसँगै खेलेको थियो । त्यसयता उसले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल शुक्रबार त्रिवि मैदानमा खेलेको हो ।

‘बलियो प्रतिस्पर्धीसँग नियमित खेलिरहेका छौं भने अवश्य पनि आत्मविश्वास बढ्छ । जितहारको अनुभवले लयलाई मिलाउँदै जान सकिन्छ । हामी १ वर्षदेखि अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिएनौं,’ कप्तान मक्सुदले पत्रकार सम्मेलनमा भने, ‘यो खेलले हामीलाई धेरै कुरा सिकाएको छ । अबका खेलहरुमा बलियो रुपमा प्रस्तुत हुनेछौं ।’

जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा ओमानले कतारमाथि ४० रनको जित हासिल गरे पनि त्यसले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन ।

पछिल्ला नतिजाहरुका आधारमा ओमान बलियो देखिए पनि त्रिवि मैदानमा शुक्रबार नेपालले ब्याटिङ र बलिङ दुवैमा माथ दियो ।

कप्तान मक्सुदले कुशल र सोमपालको ब्याटिङ तथा सन्दीपको बलिङ र उनको पछिल्लो सफलताको प्रशंशा गरे । ‘कुशल (मल्ल)ले निकै सकारात्मक क्रिकेट खेले । त्यसले गर्दा हामी पछि परेका हौं,’ मक्सुदले स्वीकारे ।

कलिमउल्लाह र विलाल खानको बलिङ तथा मोहम्मद नदिम र सन्दीप गौडको ब्याटिङ आगामी खेलहरुका लागि आफूहरुको सकारात्मक पक्ष भएको मक्सुदको दावी छ ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवात निकै कमजोर गरेको थियो । चार ओभरभित्र दुवै ओपनरलाई गुमाएको नेपालले २७ बलसम्म रनको खाता खोल्न सकेको थिएन ।

भीम सार्की र रोहितकुमार पौडेलले संयमतापूर्वक उकासेको नेपालको ब्याटिङलाई मध्यम ओभरमा कुशल मल्ल र आरिफ शेखले उकासे । यी दुईले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए ।

इनिङ्सको अन्त्यतिर सोमपाल कामीको शानदार अर्धशतक र करण केसीको उत्कृष्ट फिनिसिङपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट ३०० को योगफल पार गरी ३१० रनको कीर्तिमानी योगफल बनाएको थियो ।

जवाफमा ४६.३ ओभरमा ओमानलाई अलआउट गरी नेपालले ८४ रनले खेल जितेको थियो ।

सन् २०१८ को मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि २०१८ अगष्ट १ मा नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसयता शुक्रबार ५०औं खेल खेलेको हो ।

एसीसी प्रिमियर कप नेपाल भर्सेस ओमान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय