+
+

विद्युतीय सामग्री उत्पादनमा लिट्मसको फड्को : ४ अर्ब लगानीमा दोस्रो प्लान्ट

टोपराज शर्मा टोपराज शर्मा
२०८० वैशाख ८ गते २०:५१

८ वैशाख, बुटवल । विद्युतीय तार उत्पादनमा बुटवलको लिट्मस केबल उद्योगले ठूलो फड्को मारेको छ । २०३४ सालमा बुटवल औद्योगिक क्षेत्रमा रमेश गुप्तासहित तीनजनाले स्थापना गरेको लुम्बिनी विद्युत उद्योगले सुरुमा एसीएसआर कन्डक्टर उत्पादन गथ्र्यो ।

उद्योगले क्रमशः घरायसी वायरिङका केबल, कन्डक्टर, ट्रान्सफर्मरमा प्रयोग हुने इनामेल बाइन्डिङ वायरदेखि अहिले नेपालमै पहिलो र एक मात्र ४०० केभिए क्षमताको कन्डक्टर उत्पादन गर्न थालेको छ ।

नेपालमा जलविद्युुत परियोजना र विद्युतीकरण विस्तार हुँदै गर्दा उद्योगले चार वर्षअघि एक अर्ब लगानी थपेर जर्मन प्रविधिको नयाँ मेसिनहरु भित्र्यायो । अहिले ४०० केभीए कन्डक्टर तार उत्पादनका साथै प्रसारण लाइनमा आवश्यक सबै क्षमताको केबल उत्पादन गर्ने नेपालको एक्लो उद्योग बनेको छ लिट्मस केबल ।

उद्योगका उपाध्यक्ष सरोज मिश्र ३० करोड रुपैयाँबाट सञ्चालित लुम्बिनी विद्युत उद्योगमा एक अर्ब लगानी थपेर ‘रिब्रान्डिङ’ गरी लिट्मस केबल इण्डष्ट्रिजलाई अगाडि बढाएको बताउँछन् । उनका अनुसार बुटवल औद्योगिक क्षेत्रभित्रको २ बिगाह क्षेत्रफल लिट्मसलाई अपर्याप्त भएपछि नवलपरासीको परासीमा नयाँ प्लान्ट लगाइएको छ ।

१५ बिगाह जमिनमा फैलिएको नयाँ प्लान्टका लागि चार अर्ब रुपैंया लगानी भएको उपाध्यक्ष मिश्रले बताए । अबको डेढ वर्षभित्रमा उत्पादन निर्यात गर्ने योजना छ ।

त्यसका लागि उद्योगले अफ्रिकी मुलुकहरुमा बजारको सम्भाव्यता अध्ययन गरिसकेको छ । ‘पहिले त ४०० केभीए कन्डक्टर तार आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने हो’, उद्योगका उपाध्यक्ष मिश्र भन्छन्, ‘नेपालमा आवश्यक सबै प्रकारका हाइटेन्सन कन्डक्टर उत्पादन गरेर आयात प्रतिस्थापन गर्छौं ।’

त्यसअनुसार, आउँदो पाँच वर्षमा सबै प्रकारका इलेक्ट्रिक उत्पादन गर्ने उद्योगको तयारी छ । परासीको प्लान्ट त्यसैको तयारी भएको मिश्र बताउँछन् । उनका अनुसार कम्पनीले एमसिभी, फ्यान, स्विच, इन्डक्सन र एलइडी लाइटसमेत उत्पादन गर्नेछ ।

अहिलै नै देशभर १३० भन्दा बढी डिस्ट्रिब्युटर र दुई हजारभन्दा बढी रिटेलरमार्फत आफ्ना उत्पादन बिक्री गरिरहेकाले नयाँ उत्पादन उपभोक्तासम्म पुर्याउन कठिनाइ नरहेको मिश्रको विश्वास छ ।

उनका अनुसार, अहिले घरायसी प्रयोजनका चार प्रकारका एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्वीन र कन्सेन्ट्रिक तारसँगै औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रयोग हुने १.५देखि हजार वर्गमिलिमिटर आकारको एलभी पावर केबल, ट्रान्सफर्मर, विद्युतीय उपकरणमा प्रयोग हुने इनामेल वायर र पेपर स्ट्रिप्स उत्पादन भइरहेको छ ।

ट्रान्सफर्मर उत्पादनमा भने ‘निक इन्जिनियरिङ’ कम्पनीसँग ज्वाइन्ट भेन्चर छ । नेपाल विद्युत् प्राधिकरणका लागि हालसम्म सात हजार थान ट्रान्सफर्मर उत्पादन गरिसकेको उपाध्यक्ष मिश्रले बताए ।

उनका अनुसार, बुटवल औद्योगिक क्षेत्रमा २०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले परासीको प्लान्टमा २५० जनालाई रोजगार बनाउँदैछ ।

आयात निरुत्साहित गर्न माग

नेपालमा गुणस्तरीय विद्युतीय तार उत्पादन हुँदाहुँदै पनि भारतबाट भन्सार छुट र अवैध रुपमा समेत तारहरु आउँदा नेपाली उद्योगहरु मरमा परेको उपाध्यक्ष मिश्र बताउँछन् । अहिलेपनि भारतबाट वार्षिक २० अर्ब रुपैयाँको तार आयात भइरहेको उनको दावी छ ।

DCIM100MEDIADJI_0830.JPG

‘आयात नियन्त्रण नहुंदा हामीले क्षमताअनुसार उत्पादन गर्न पाएका छैनौं’, उनले भने, ‘जस्तो, वार्षिक २५ लाख कोइलभन्दा बढी केबल उत्पादन गर्न सक्छौं, तर महिनामा २५–३० हजार कोइल उत्पादन गर्दा पनि बिक्री नहुने अवस्था छ ।’

उपाध्यक्ष मिश्रका अनुसार, विद्युतीय तारमा नीतिगत रुपमा १५ प्रतिशत भन्सार दर भएपनि नेपालमा उत्पादन नै अपुग भएको वहनामा १ प्रतिशत भन्सारमा भारतबाट आयात भइरहेको छ ।

‘अब नेपाल सरकारले स्वदेशी उद्योग प्रवद्र्धन हुनेगरी भन्सार दरमा कडाइ गर्नुपर्छ’, उनी भन्छन्, ‘विद्युतीय तारले अनिवार्य रूपमा नेपाल गुणस्तर प्रमाण चिन्ह लिनुपर्नेमा बजारमा गुणस्तर चिन्ह नलिएका तार समेत बिक्री भइरहेकाले पनि यसमा नियन्त्रण आवश्यक छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?