
९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले आउँदो चुनावमा एमालेलाई रोक्ने शक्ति कुनै पनि नहुने दाबी गरे ।
‘म घोषणा गर्न चाहन्छु–आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ । रोक्ने शक्ति कोही छ भने रोक्नुस । यस अभियानलाई रोक्न सक्ने कोही छ भने रोकोस् । यो लुकेर भनिएको छैन । खुलेआम भनिएको छ । आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ । अर्को त्यसपछिको १० वर्षमा नेकपा एमालेले विकासशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ ।’
आगामी २५ वर्षमा एमालेले नेपाललाई आधुनिक र विकसित राष्ट्र बनाउने पनि ओलीले दाबी गरे । ‘…जब नेकपा एमाले सय वर्ष पुग्छ । त्यतिबेला नेपाल एउटा आधुनिक विकसित राष्ट्र बनाउनेछौं आगामी २५ वर्षमा’ उनले भने ।
ओलीले प्रचण्ड–माधव नेपालप्रति लक्षित गर्दै सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप पनि लगाए ।
‘कुनै पनि कम्युनिष्टहरु हाम्रै पार्टीबाट गएका हुन् है । प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐजेरु पलाएझैं पलाएको त हो नि । २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो’ उनले भने, ‘दुई तिहाई पु¥यायौ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरुलाई सही सक्नुभएन । र, उनीहरु बिके ।’
प्रतिक्रिया 4