
काठमाडौं । मिस नेपाल-२०२३ को सहविधा ट्यालेन्ट राउण्डको प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । वाटरफ्रन्ट रिसोर्टमा आयोजित प्रतिस्पर्धामा २४ जना सुन्दरीले आ-आफ्नो क्षमता प्रस्तुत गरे । उनीहरु आइतबार दिउँसो टाटाको बिजुली गाडी र्यालीमा सहभागी हुँदैछन् ।
मिस नेपालको इतिहासमा पहिलोपटक सहविधाको प्रतिस्पर्धा काठमाडौंबाहिर आयोजना भएको हो । ‘हामीले सोचेभन्दा राम्रो ढंगले कार्यक्रम भएको छ । निकट भविष्यमा पोखरामै ग्राण्ड फिनाले आयोजना गर्ने ढोका समेत यसले खोलेको छ,’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले अनलाइनखबरसँग भने ।
पोखराको ट्यालेन्ट राउण्डमा सुन्दरीले नृत्य, गायन, संगीत, साहित्य र अन्य क्षमता प्रस्तुत गरेका थिए । कतिपयले मौलिक परम्परा र वेशभूषामा पनि क्षमता प्रदर्शन गरे । शनिबार नै स्थानीय शान्ति माविमा सुन्दरीहरुले वृक्षारोपण समेत गरे । उनीहरुले मगरगाउँ होमस्टे पनि अवलोकन गरे । यो सबैको चाँजोपाँजो पर्यटन बोर्डले मिलाएको थियो ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले मिस नेपालको तर्फबाट पर्यटकीय सम्पदाको प्रचारप्रसार हुने आशा आफूले लिएको बताए । मिस नेपाल-२०२३ को ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुरको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ ।
तस्वीर : हिडन ट्रेजर
प्रतिक्रिया 4