+
+

मिठाइदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १३:२५

१० वैशाख, काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

झण्डै ७ दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि समाजले विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार शान्ति समाजले स्थापना गरेको हो ।

२०८० साल मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने सभापति रामकृष्ण बरालले जानकारी दिए ।

विसं १९९३ फागुन १० गते इन्द्रचोक काठमाडौंमा जन्मिएकी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन्। पशुपतिनाथ मन्दिरमा ‘कुकुर र अछुतलाई प्रवेश निषेध’ गरिँदै आएकामा त्यसको विरोध गर्दै विसं २०११ मा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रियरुपमा सहभागी भएको थिइन् ।

युवा अवस्थामै विसं २०१२ मा उनले नेपाल परिगणित नारी सङ्घको स्थापना गरी सो संस्थामार्फत काठमाडौँको दलित बस्तीमा विद्यालय स्थापना गरिन् ।  दलित समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण योगदान दिइन् ।

नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि सङ्घर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गरेकी मिठाइदेवीले टीआर विश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गएको हो ।

विश्वकर्माले भारतीय दलित साहित्य एकेडेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारलगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।

मदर्स केयर विद्यालयको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्राबासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।

विश्वकर्माले पत्रकारिताका क्षेत्रमा पनि योगदान गरेकी छिन् । उनले विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गरेकी छिन् । स्रष्टा विश्वकर्माको ‘नेपाली नारीको अवस्था र अवस्थिति २०६१’ नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?