
१० वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन् ।
अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए ।
उनले भने, ‘ छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गईरहेका छौं । त्यसका निम्ति हामी अरु समूहहरुसँग पनि कुरा गर्दै, गर्दै जानेछौं । सहभागी हुन चाहनेहरुलाई समाजवादी मोर्चामा आवद्ध गरिनेछ । अझै त्यो भन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरु पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं ।’
अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आग्रह गरे । सो अवसरमा उनले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना बाम राजनीतिक शक्तिहरुलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढन पनि आह्वान गरे ।
उनले भने, ‘हाम्रो पार्टीले बाम–समाजवादी शक्तिहरुसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ । र, म धन्यवाद दिन चाहन्छु–नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई, सम्मानीय प्रधानमन्त्रीलाई । उहाँले पनि यो समाजवादी मोर्चाको काम छिटो हामी गरौं भनेर बारम्बार ताकेता गर्दै हुनुहुन्छ । र, छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गईरहेका छौं।’
अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरुबीच एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताए ।
उनले भने, ‘ नेपालको राजनीतिको तस्वीर हेर्नुस । विभिन्न पार्टीहरु तिर यसो नजर घुमाउनुस । तपाईलाई आशा दिने शक्ति एउटै मात्रै छ । त्यो हो कम्युनिष्ट पार्टी । कम्युनिष्ट आन्दोलन । त्यसो हुनाले समाजवादको दिशामा अघि बढाएर लैजानका लागि कम्युनिष्टहरु एकतावद्ध हुन आह्वान गर्दछु।’
प्रतिक्रिया 4