
१० वैशाख, बुटवल । अदालतमा मुद्दा परेर रोकिएको १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रकृया अघि बढाइने भएको छ ।
अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले पद वहाली गर्दै प्रदेश सरकारको गौरवको आयोजनामा परेको उक्त भवनको ठेक्का प्रक्रियालाई कानुनी हिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।
ठेक्का प्रक्रियामा मिलेमतो गरी राज्यलाई करिब डेढ अर्ब नोक्सानी पुर्याउन खोजिएको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले मुद्दा हालेपछि करिब ७ अर्ब लागत अनुमान गरिएको भवनको ठेक्का रद्द भएको थियो । पछि माओवादी केन्द्र नेतृत्वको सरकारको पालामा पुनः ठेक्का अघि बढाइएपछि अदालतमा पुनः मुद्दा परेर विचाराधीन छ ।
‘११३ वर्ष पुरानो भएकाले १२ सय शय्याको नयाँ अस्पताल भवन अपरिहार्य छ, ठेक्का रद्द गरेर वा कानुनी हिसाबले टुंगो लगाएर ठेक्का अघि बढाइन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय सेवा दिन नयाँ भवनको विकल्प छैन ।’
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमा लिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कानसहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
आफूले सुरुमा सय दिने, ६ महिने र एक वर्षे योजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
अस्पतालका पूर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शय्याको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयाँ तलमाथि गर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब अघि बढाउनुपर्ने सुझाए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुँदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताए ।
प्रतिक्रिया 4