+

फेरिएको साउदीसँग मूलपानीमा नेपालको भेट

२०८० वैशाख  १० गते २०:२८ २०८० वैशाख १० गते २०:२८
फेरिएको साउदीसँग मूलपानीमा नेपालको भेट

१० वैशाख, काठमाडौं । ऐतिहासिक एसिया कप छनोटको लक्ष्यसहित एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार साउदी अरबको आतिथ्य गर्दा लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

समूह ए बाट पहिलो खेलमा मलेसिया र दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ओमानमाथि सहज विजय निकालेको नेपाल टिमले साउदी अरबलाई पराजित गरे समूहमा एक खेल बाँकी रहँदै सेमिफाइनलमा स्थान बनाउनेछ ।

सोमबारको खेल नेपालका लागि फरक परिवेश र नयाँ विपक्षीसँग हुँदैछ । नेपालले मूलपानी मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नयाँ विपक्षी यसअर्थमा कि नेपालले साउदी अरबसँग ११ वर्षपछि एकदिवसीय क्रिकेट खेल्दैछ । यसबीचमा दुवै टिममा व्यापक पुस्तान्तरण भइसकेको छ ।

पछिल्लोपल्ट सन् २०१२ को अक्टोबरमा एसीसी ट्रफीअन्तर्गत नेपालले समूह चरणमा साउदी अरबसँग खेलेको थियो । त्यो खेलमा १३२ रनको लक्ष्य पछ्याएको नेपाललाई १३.१ ओभरमै जिताउन तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । १८ बलमा अर्धशतक पूरा गरेका उनले २३ बलमा अविजित ६१ रन बनाएका थिए । उनले दशौं ओभरमा साउदीका बलर नदिम जावेदलाई लगातार ६ चौका प्रहार गरेका थिए ।

त्यसयता एकदिवसीयमा नेपाल र साउदीको भेट भएको छैन । तर  अहिले साउदी टिममा त्यतिबेला खेलेका कुनै पनि खेलाडी छैनन् भने नेपाल टिममा ज्ञानेन्द्र मल्लमात्र बाँकी छन् । त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषदको  एफिलियटेड मेम्बर रहेको साउदी अहिले एसोसियट मेम्बर छ ।

एसीसी प्रिमियर कपकै लागि अन्तर्राष्ट्रिय मापदण्ड सुहाउँदो गरी स्तरोन्नत्ति गरिएको मूलपानी (माथिल्लो) मैदानमा विकेट (पीच) र आउडफिल्डमा विशेष ध्यान दिइएको छ । विकेटमा बाउन्स र बल टर्निङको समस्या समाधान तथा क्वीक आउटफिल्ड (मैदान) निर्माणका लागि दुई महिनादेखि बंगलादेशी क्युरेटर अब्दुल मलमामुमको प्रयास सफल भएको छ ।

मूलपानीमा यही प्रतियोगितामा यसअघि ६ खेल भइसकेका छन् । साउदी अरबले ७ वैशाखमा मूलपानीमा मलेसियासँग खेलेको थियो । नेपालले भने यो मैदानमा पहिलो खेल खेल्दैछ । खराव विकेटका कारण मूलपानी मैदानमा रन बनाउन कठिन हुने समस्या यसपल्ट धेरै हदसम्म समाधान भएको छ । पछिल्ला ६ मध्ये ४ खेलमा २३० भन्दा माथिको स्कोर बनिरहेको छ ।

घरेलु मैदानमा खेलिएको पछिल्लो १२ एकदिवसीय खेलमा शतप्रतिशत जित हासिल गरेको नेपाल टिम पछिल्लो दुई महिनादेखि उच्च लयमा छ । नेपालले गत महिना आईसीसी क्रिकेट विश्वकप लिग टूको शीर्ष तीनमा रहँदै विश्वकप छनोटसम्मको रोमान्चक यात्रा तय गरेको थियो ।

गत माघ अन्तिम साता भारतीय प्रशिक्षक मोन्टी देशाईले टिम सम्हालेयता बलिङ र ब्याटिङमा नेपालको डरविहीन प्रदर्शन छ । यसमा उनको बल बाई बल र ह्याप्पी ड्रेसिङ रुमको रणनीतिमा नेपालले लगातार जितिरहेको छ ।

नेपालले यो प्रतियोगितामा पहिलो खेल मलेसियालाई ६ विकेट र दोस्रो खेल ओमानलाई ८४ रनले हराएको छ । दुवै खेल त्रिवि मैदान कीर्तिपुरमा खेलिएको थियो । नेपालको ब्याटिङतर्फ ओपनिङ समस्या यो प्रतियोगितामा पनि समाधान हुन सकेको छैन । यद्यपि मध्यक्रममा भीम सार्की र कुशल मल्लको प्रदर्शन शानदार छ ।

मलेसियाविरुद्ध भीम र कुशल दुवैले अर्धशतकीय योगदान गरेका थिए भने चौथो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा ओमानविरुद्ध कुशलले कीर्तिमानी शतक बनाएका थिए । उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक छिटो ५९ बलमा शतक पूरा गरेका थिए । ६४ बलमा १०८ रन बनाउने क्रममा ९ चौका र १० छक्का प्रहार गरे ।

बलिङमा नेपालको प्रमुख हतियारका रुपमा रहेको स्पिन बलिङले प्रभाव देखाइरहेको छ । सन्दीप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले किफायती बलिङसँगै विकेट लिइरहेका छन् । ओमानसँगको खेलमार्फत थोरै खेलमा १०० एकदिवशीय अन्तर्राष्ट्रिय विकेटको विश्व कीर्तिमान राखेका सन्दीपले दुई खेलमा ६ विकेट लिइसकेका छन् ।

सुधारिएको साउदीमाथि नेपालको जितको अपेक्षा गर्न सकिन्छ तर, नेपालले त्यस्तै क्रिकेट खेल्नुपर्नेछ जस्तो पछिल्लो दुई महिनादेखि खेलिरहेको छ । प्रशिक्षक मोन्टीले साउदीसँगको खेलमा टिममा केहि परिवर्तन गर्नसक्छन् । बायाँहाते तीव्र बलर प्रतिश जिसी तथा शीर्ष क्रमका ब्याटर ज्ञानेन्द्र मल्लले यो प्रतियोगितामा अवसर पाएका छैनन् । प्रशिक्षक मोन्टीले साउदीसँग यी दुईलाई टिममा ल्याउनसक्ने सम्भावना छ ।

सन् १९९४ देखि २००० सम्म पाकिस्तानका लागि १३२ टेष्ट खेलेका तीव्र बलर कविर खानले दुई वर्षयता साउदी टिमको प्रशिक्षण गरिरहेका छन् । उनीसँग यसअघि दुईपल्ट अफगानिस्तान र एकपल्ट यूएईको प्रशिक्षण गरेको अनुभव छ ।

पछिल्लो समय पाकिस्तानलगायतका देशबाट स्तरीय खेलाडी भित्र्याएर एशोसिएट देशमध्ये उदीयमान छवि बनाउन सफल साउदीले दुई महिनाअघि थाइल्याण्डमा यही प्रतियोगिताको छनोटका रुपमा रहेको एसीसी च्यालेन्जर्स कपको उपाधि जितेको थियो । फाइनलमा बहराइनलाई १० विकेटले हराउँदा साउदीको लय बेजोड थियो ।

जारी प्रतियोगितामा आफ्नो पहिलो खेल मलेसियासँग ८ विकेटले पराजित भए पनि दोस्रो खेलमा शनिबार कतारमाथि ७ विकेटको शानदार जित रचेको थियो । उसका ओपनर अब्देल वाहिदले १०८ बलमा १२४ रनको शतकीय पारी खेलेका थिए भने अर्का ओपनर वाकर अल हुसेनले ५५ रनको अर्धशतकीय योगदान गरेका थिए । यी दुईले ११८ रनको सुरुवाती साझेदारी गरेसँगै २१७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमै पूरा गरेको थियो ।

जितपछि साउदीका कप्तान हिसाम शेखले आफ्नो टिममा प्रतिभाको खाँचो नभएको बताएका थिए । उनले एकपछि अर्को खेलमा रणनीति प्रदर्शन गर्ने भन्दै कुनै पनि विपक्षीलाई सहज नमान्ने दावी गरे । साथै नेपालसँगको खेलमा उल्लेख्य दर्शकअघि खेल्न आफूहरु उत्साहित रहेकोसमेत बताएका थिए ।

एसीसी प्रिमियर कप नेपाल भर्सेस साउदी मूलपानी क्रिकेट रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय