+

कुन-कुन कारणले हुन्छ मेरुदण्डमा समस्या ?

२०८० वैशाख  ११ गते १४:४६ २०८० वैशाख ११ गते १४:४६
कुन-कुन कारणले हुन्छ मेरुदण्डमा समस्या ?

काठमाडौं । मेरुदण्डको हड्डी मानिसको जीवनरेखा नै हो भन्दा हुन्छ । यो नहुँदो हो त हामी सिधा उभिन पनि सक्ने थिएनौं ।

मेरुदण्डले मानिसको तौललाई धान्ने त छँदैछ यो स्नायु प्रणालीको समेत महत्वपूर्ण भाग भएको राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. विनोद शेरचन बताउँछन् ।

‘मानिसको शरीरले सही तरिकाले कार्यसम्पादन गर्न उनीहरूको मेरुदण्डको हड्डीको स्थिति पनि सही हुन आवश्यक छ,’ उनी भन्छन् ।

मेरुदण्डमा देखापर्ने समस्या

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको छ । उमेर अनुसार मेरुदण्डको समस्या फरक-फरक हुने डा. शेरचन बताउँछन् ।

‘बच्चामा जन्मजात नै मेरुदण्डको बनावटमा गडबडी हुने, पूरा नबन्ने, जोर्नी जाम हुने समस्या भएर मेरुदण्ड बाङ्गो हुने, कुप्रो हुने हुन्छ । मेरुदण्डको भित्र स्पाइनल कर्ड हुन्छ, स्नायु प्रणाली हुन्छ । त्यसको आवरणमा त्रुटि भएर पनि बच्चामा मेरुदण्डको समस्या हुन्छ,’ उनी भन्छन् ।

वयस्कमा देखिने मेरुदण्डसम्बन्धी मुख्य समस्या मेकानिकल ‘ब्याक पेन’ हो  । यसको मुख्य कारण लामो समयसम्म एकै ठाउँमा गलत तरिकाले बस्नु, निहुरेर भारी सामान उचाल्नु हो । शरीरको ‘पोस्चर’ नमिल्दा मांसपेशी खुम्चिएर बस्छ, जसले दुखाइ हुने शेरचन बताउँछन् ।

‘वृद्धावस्थामा हड्डी खिइने र कमजोर हुने समस्या बढी मात्रामा देखिन्छ । उमेर जति बढ्दै जान्छ, हड्डी खिइने र कमजोर हुने ओस्टियोपोरोसिसको सम्भावना उति नै धेरै हुने गर्छ,’ उनी भन्छन्, ‘ओस्टियोपोरोसिसको समस्या प्रायः महिनावारी सुकेका महिलामा बढी हुन्छ । विशेषगरी ५० वर्ष उमेर पार गरेपछि यो रोगले मानिसलाई सताउँछ ।’

मेरुदण्डमा चोट लाग्ने कारण

मेरुदण्डमा चोट लाग्ने समस्या २० देखि ५० वर्षको उमेरमा  बढी हुन्छ । अन्य मुलुकमा मेरुदण्डको चोटपटकको मुख्य कारण सडक, यातायात दुर्घटना हो । तर नेपालमा भने भौगोलिक बनावटको कारणले भीरबाट खसेर, रुखबाट लडेर, घर बनाउने काम गर्ने व्यक्तिमा घरको छतबाट खसेर यो समस्या बढी देखिने शेरचन बताउँछन् ।

‘पछिल्लो समय हाम्रो देशमा पनि मेरुदण्डको चोट लाग्ने एक प्रमुख कारण सडक यातायात दुर्घटना बन्दै गएको छ,’ उनी भन्छन् ।

मेरुदण्डमा चोट लाग्दा कस्तो समस्या ?

दुर्घटना वा अन्य कारणले मेरुदण्डमा चोट लागेर स्पाइनल कर्डमा समेत क्षति पुगे प्यारालाइसिस हुन्छ । स्पाइनल कर्डमा चोट लगेको अवस्थामा त्यहाँदेखि मुनिका सबै अंगमा सूचना प्रवाह नहुने शेरचन बताउँछन् ।

‘स्पाइनल कर्डमा चोट लागेको छ तर पूरै नसा च्यातिएको छैन भने अन्य अंग कमजोर हुने हुन्छ । प्यारालाइसिस नै त हुँदैन तर चलाउन गाह्रो हुन्छ,’ उनी भन्छन् ।

चोट लागेर मेरुदण्डको हड्डी भाँचिए पनि नसामा चोट लागेको छैन भने प्यारालाइसिस हुँदैन र चोट पनि अलि छिटो निको हुने शेरचन बताउँछन् ।

उपचार

कुनै व्यक्तिलाई मेरुदण्डमा चोट लागे सबैभन्दा पहिले चोटले नसालाई असर गरेको छ कि छैन भनेर एक्सरे, सिटिस्क्यान, एमआरआई गरेर हेर्नुपर्छ । मेरुदण्डमा चोट लागेर हड्डी भाँचिएको छ भने त्यो सरेको  छ कि छैन, हड्डी सरेर नसामा चोट लाग्ने सम्भावना छ कि छैन भनेर हेरिन्छ । हड्डी सरेको छ भने शल्यक्रिया गरेर किला पाता राखेर त्यसलाई सिधा बनाएर जोडिने शेरचन बताउँछन् ।

‘आराम गरेर नै हड्डी जोडिन्छ । प्यारालाइसिस नै भएको  छ भने मेरुदण्डमा चोट लागेर नसामा असर गरेको छ भने शल्यक्रिया गर्नुपर्छ,’ उनी भन्छन्, ‘शल्यक्रिया पछि स्पाइनल चोट पुनस्र्थापना प्रशिक्षण पनि दिनुपर्छ ।’

ढाड दुख्ने समस्या छ भने कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिको सेवनबाट निको हुन्छ । फिजियोथेरापी गरेर समेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

बच्ने उपाय 

बालबालिकालाई जन्मजात रूपमा हुने मेरुदण्डको समस्याबाट त बच्न सकिंदैन । तर ढाड दुख्ने समस्या र चोटपटक लाग्ने समस्याबाट भने बच्न सकिने शेरचन सुझाउँछन् ।

‘मेकानिकल ब्याक पेन’ ढाड दुख्ने समस्याबाट बच्न ‘पोस्चर’ मिलाउनुपर्ने उनी बताउँछन् । ‘सिधा भएर बस्नुपर्छ, लामो समय एकै ठाउँमा नबस्ने, निहुँनेर काम नगर्ने र दैनिक व्यायाम गर्नुपर्छ,’ शेरचन बताउँछन् ।

चोटपटक लाग्न नदिन सचेत भएर सवारी साधन चलाउने, रुख तथा अन्य अग्लो ठाउँमा चढ्दा ‘सेफ्टी हार्नेस’ लगाउने गर्नुपर्छ । सडक दुर्घटना रोक्न सरकारले पनि सडकको विस्तार गर्नुपर्छ ।

कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुँदा समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी हुने शेरचन बताउँछन् ।

वृद्धावस्थामा देखापर्ने मेरुदण्डको समस्याबाट बच्न दैनिक व्यायाम गर्ने, हड्डी बलियो बनाउन क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । साथै शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्न घाम ताप्ने, हड्डी बलियो बनाउन भिटामिन डी र सी सप्लिमेन्टहरूको सेवन गर्न डा. शेरचन सुझाउँछन् ।

मेरुदण्ड स्वास्थ्य

धेरै कमेन्ट गरिएका

डा. विनोद शेरचन
लेखक
डा. विनोद शेरचन
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३३९७ अध्ययन : एमबीबीएस, एमएस (अर्थोपेडिक्स), अर्थोस्कोपी स्पोर्ट्स इन्ज्युरी तथा अर्थोप्लास्टिमा फेलोसिप हाल काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभागीय प्रमुख र प्राध्यापक रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय