
११ वैशाख, बुटवल । बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सहभागी गराउने सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए ।
धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसंग हुने विवाद र द्वन्द्व अन्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइँटेलले बताए ।
पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भएपनि राज्यले कानुनीरुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तिनै तहका सरकारलाई दबाव पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।
नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरुलाई सहज रुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरुको राष्ट्रियस्तरको सञ्जाल निर्माण गर्ने सम्मेलनका प्रचार संयोजक डीआर घिमिरेले बताए ।
पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेश गर्ने छन् । समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मुल्यअभिबृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।
सम्मेलन गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसंग सहयोगका लागि पत्राचार गरिएको आयोजकले जनाएका छन् । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्र समेत जारी गर्ने छ ।
प्रतिक्रिया 4