
जे रोप्यौ, त्यही फलेको छ
यसको कारण पनि तिमी नै हौ
उत्तराधिकारी पनि तिमी
तिमीलाई थाहा छ
अमिलो रोपेर, गुलियो फल्दैन
तिमीले यसरी कुल्चियौ हाम्रा मनहरु
मानौं अजंगको हात्तीले
गुलाबको फूल कुल्चिएको होस्
मानौं बाटो काट्ने कमिलालाई
बुलडोजरले कुल्चिएको होस्
लेख्दै गर्दा मेरा हातहरु डराउनुपर्ने हो
अँह तर डराउँदैनन्
बोल्दै गर्दा बोली नआउनुपर्ने हो
तर त्यस्तो हुँदैन
किन भनेर क्रूर प्रश्न नगर मप्रति फर्किएर
बरु प्रश्न गर ऐनातिर फर्किएर
प्रश्न गर तिमीले के दियौ ?
तिमीले व्यवस्थाको कुरा गर्छौ
के यो मात्र काफी थियो
मेरो आक्रोश रोक्नलाई
व्यवस्थाले जे दिनुपर्ने थियो
तिमीले दियौ कि दिएनौ ?
एउटा किसान मल, बीउ माग्दै
आमरण अनसनमा छ
उखुको मूल्य माग्दै माइतीघरमा छ
साहुको ब्याजले थलिएर कोकोहोलो गर्दै
व्यवसायी सडक आन्दोलनमा छ
युवा चरम निराशा र दोधारमा छ
विदेश जाऊँ कि आत्महत्या गरौं
फेरि प्रश्न गर ऐनातिर फर्किएर
तिमीले के दियौ ?
अनि प्रश्न गर आत्मातिर फर्किएर
तिमीले पायौ कि पाएनौ ?
हामी भोकभोकै हुँदा
तिमीले खायौ कि खाएनौ ?
–जितपुरसिमरा, बारा
प्रतिक्रिया 4