+

बुद्धिचाल महासंघले सुरु गर्‍यो खेलाडीलाई मासिक तलव

२०८० वैशाख  १२ गते १५:०७ २०८० वैशाख १२ गते १५:०७
बुद्धिचाल महासंघले सुरु गर्‍यो खेलाडीलाई मासिक तलव

१२ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आफ्नो राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने घोषणा गरेको छ ।

यसैसाता सम्पन्न राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा खुलातर्फका विजेता फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फकी विजेता फिडेमास्टर सुजना लोहनी महासंघले गरेको ऐतिहासिक घोषणाबाट लाभान्वित हुनेछन् ।

नेपालमा अहिलेसम्म फुटबल र क्रिकेटबाहेक अन्य कुनै पनि खेल संघले आफ्ना अन्तर्राष्ट्रिय खेलाडी वा राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने गरेका छैनन् ।

खेलाडीलाई संघबाट नै मासिक तलव उपलब्ध गराउनेमा बुद्धिचाल तेस्रो भएको छ । रुपेश र सुजनाले जनही मासिक १० हजार रुपैयाँ तलव पाउनेछन् ।

महासंघले सागर फिड्स प्राली, इटहरीसँगको सहकार्यमा खेलाडीलाई तलव सुविधाको सुरुवात गर्न लागिएको जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतम र सागर फिड्सका प्रवन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सागर फिड्सले महासंघलाई वार्षिक २ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउनेछ भने च्याम्पियन खेलाडहरु सागर फिड्सको ब्रान्ड एम्बेसडर रहनेछन् । ज्ञानेन्द्र नेपाल बुद्धिचाल महासंघका उपाध्यक्षसमेत हुन् ।

‘हामीलाई थाहा छ, राष्ट्रिय च्याम्पियन खेलाडीका लागि यो रकम धेरै नै न्यून हो । यद्यपी यो सुरुवात हो । फुटबल क्रिकेटजस्तो खेलाडीलाई तलवका लागि अन्तर्राष्ट्रिय महासंघबाट सहयोग आउँदैन,’ महासंघका अध्यक्ष गौतमले भने, ‘निजी क्षेत्रको सहकार्यले यो सम्भव भएको हो । हामी दीर्घकालसम्म यसलाई निरन्तरता दिन प्रयास गर्नेछौं ।’

सागर फिड्सका प्रवन्ध निर्देशक पराजुलीले बुद्धिचाल विकासमा व्यवसायिकताको सुरुवात गर्ने प्रयास गरेको जनाए । ‘यो सुरुवातले खेलाडी सुरक्षामा टेवा पुग्ने अपेक्षा राखेका छौं,’ उनले पत्रकार सम्मेलनमा भने ।

मासिक सुविधा पाउने च्याम्पियनद्वय रुपेश र सुजनाले पहिलो पल्ट कर्पोरेट क्षेत्रले सहयोग गरेकोमा खुसी लागेको बताए । भविष्यमा अन्य खेलाडीका लागि प्रोत्साहनसमेत मिलेको उनीहरुको भनाइ छ ।

चैतमा नेपाल बुद्धिचाल महासंघको नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै नयाँ प्रणालीमार्फत पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप आयोजना भएको थियो ।

राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका, फिडे रेटिङमा शीर्ष स्थानमा रहेका र साविक विजेता गरी १० खेलाडीबीच राउण्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएर राष्ट्रिय च्याम्पियन छनोट गरिएको छ ।

नयाँ राष्ट्रिय च्याम्पियनहरुले सबै अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । उनीहरु महासंघको विधानअनुसार मताधिकारसहित कार्यसमितिमा आमन्त्रित सदस्यसमेत हुनेछन् ।

रुपेश जैशवाल सुजना लोहनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय