१२ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समुह एको खेलमा कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसियाले यस संस्करणको एसीसी प्रिमियर कप प्रतियोगिताको यात्रा टुङ्गाएको छ ।
यो जितसँगै सबै खेल सकेको मलेसिया ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तर उसको सेमिफाइनल पुग्ने संभावना छैन । किनकी ४ अंक भएको ओमान र ३ अंक भएको साउदीबीच खेल हुनै बाँकी छ । यी दुईबीच हुने खेलको विजेता सेमफिाइनलमा पुग्ने छ । यो समूहबाट नेपाल सेमिफाइनलमा पुगिसकेको छ । ५ अंक रहेको नेपालले पुछारमा रहेको कतारसँग बिहीबार खेल्ने छ ।
मूलपानी क्रिकेट मैदानमा मलेसियासँगको खेलमा टस जितेर ब्याटिङ गरेको कतारले मैदान चिसो भएका कारण ३५ ओभरमा घटाइएको खेलमा ८ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।
कतारका लागि इमाल लियानागेले ६८ बलमा ७ चौका सहित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । खुरम सहजादले ४५ बलमा ५ चौका र १ छक्का सहित ४१ रन बनाए । मोहम्मद तान्भिर र इक्रामुललाह खानले ३९ रन बनाए ।
मलेसियाका लागि रिज्वान हैदर र मोहम्मद वाफिकले समान २–२ विकेट लिए । विजय युुनि, खिजर हायात र विरनदीप सिंहले १–१ विकेट लिए ।
कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ७ विकेट गुमाएर भेट्टायो । मलेसियाका लागि अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा अनुभवी खिजर हायातले पहिलो बलमा चौका प्रहार गर्दै मलेसियालाई जिताएका हुन् ।
सातौं ब्याटरका रुपमा क्रिजमा आएका खिजर हायातले १७ बलमा २ चौका सहित २५ रनको अविजित पारी खेले ।
यसअघि सायद अजिजले ६६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेल्दै जितको आधार तयार पारेका थिए । कप्तान अहमद फैजले २६ बलमा ३३ नर बनाए भने विजय युनि र मोहम्मद अयादतले क्रमशः २० र २२ रन बनाए । सर्विन मुनियान्डे ३ रनमा अविजित रहे ।
कतारका लागि करिमुल्लाह खानर मोहम्मद नदिमले समान २–२ विकेट लिए । मोहम्मद तानभिर र जहिर इब्राहिमले १–१ विकेट लिए ।
प्रतिक्रिया 4