+
+

संवैधानिक परिषदसम्बन्धी विधेयक बुधबार पारित गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १९:१७

१२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाले संवैधानिक परिषद सम्बन्धी विधेयक बुधबार पारित गर्ने तयारी गरेको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबारको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने उल्लेख छ ।

१२ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको यो विधेयक दफावार छलफलको चरणमा छ । विगतमा दफावार छलफल सदनमै गर्ने कि संसदीय समितिमा लैजाने भन्ने विवादका कारण अगाडि बढ्न सकेको थिएन ।

सोमबार बसेको प्रमुख तीन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको समझादारी अनुसार बुधबार संवैधानिक परिषदसम्बन्धी विधेयकको दफावार छलफल सदनमै गर्ने तयारी भएको हो ।

सदनमै दफावार छलफल गरेर विधेयक पारित भएपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पनि पारित गरेपछि राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संवैधानिक परिषद सम्बन्धी कानुनी शून्यता हट्नेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला अध्यादेशले परिषद बैठकको निर्णय प्रक्रिया तथा गणपूरक संख्या सम्बन्धी व्यवस्था संशोधन गरेको थियो । अध्यादेशले संशोधन गरेका व्यवस्थाहरु पुनः जगाउन वर्तमान सरकारले नयाँ विधेयक ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?