
१३ वैशाख, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा ल्याउने लागिएको भन्दै विरोध जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा अख्तियारले निजी क्षेत्रका प्रतिष्ठानको समेत अनुसन्धान गर्नसक्ने प्रावधान छ । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएको उक्त विधेयकबाट सो प्रावधान हटाउन संघले माग गरेको छ ।
संघका महासचिव अनिलकुमार अग्रवालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अख्तियारले निजी क्षेत्रका प्रतिष्ठानको समेत अनुसन्धान गर्ने व्यवस्था संविधानको धारा २३९ को मर्मविपरीत रहेको, यसबाट निजी क्षेत्र हतोत्साहित हुन गई स्वदेशी, विदेशी दुवै लगानी निरुत्साहित हुने र राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग जस्ता निकायको औचित्यमा समेत प्रश्न उठ्ने यस संघको ठहर छ ।’
अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान रहेको तथा ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना गरिरहेको निजी क्षेत्रमा भय पैदा भएको भन्दै संघले यस्तो कानुनी प्रावधानले समृद्ध नेपाल निर्माण गर्ने सरकारी लक्ष्यमै अवरोध सिर्जना गर्ने जिकीर गरेको छ ।
प्रतिक्रिया 4