१३ वैशाख, काठमाडौं । नेपाल र भारतबीचको महिला दृष्टिविहीन टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ ।
योसँगै पाँच खेलको सिरिजमा भारतले १-१ को बराबरी गरेको छ । पहिलो खेल नेपालले ८ विकेटले जितेको थियो ।
बुधबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १७२ रन बनाएको थियो ।
१७३ रनको लक्ष्य भारतले १४.३ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि सिमु दासले सर्वाधिक ६६ र फुला सरेनले ६५ रन बनाए । दुवै अविजित रहे ।
सिमुले २७ बल खेल्द ४ चौका मदतमा ६६ रन बनाइन् । यस्तै फुलाले ४३ बल खेल्दै ५ चौका मदतमा ६५ रन बनाइन् ।
ओपनर गंगा २२ रन बनाएर आउट भइन् । उनलाई नेपालकी विनिता पुन र विकेटकिपर गीता पौडेलले रन आउट गरेका थिए ।
पहिलो खेलमा विनिता पुनको ऐतिहासिक शतकमा जित हात पारेको नेपालका लागि दोस्रो खेलमा सरिता घिमिरेले अर्धशतक प्रहार गरिन् ।
सरिताले ४४ बलमा ३ चौका प्रहार गर्दै ५६ रन बनाएपछि नेपालले राम्रो स्कोर बनाएको थियो । बिमला राईले २९, विनिता पुनले १८, मुना अर्याल र माया लुंगेलीले समान १४ रन बनाए भने रिता थापा १० रनमा अविजित रहिन् ।
भारतका लागि फुला सरेन, गंगा र कप्तान सुस्मा पटेले समान १ विकेट लिए । नेपालका सात खेलाडी रनआउट भएका थिए ।
सिरिज अन्तर्गत तेस्रो, चौथो र पाँचौ खेल काठमाडौंको मुलपानी मैदानमा हुनेछ ।
प्रतिक्रिया 4