
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्।
राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए।
‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ,’ उनले भने।
प्रत्येक दुई/दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ।
मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुखद उनले बताए।
‘पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिष्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ। अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ,’ महर भन्छन्।
पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ।
प्रतिक्रिया 4