
१४ वैशाख, काठमाडौं । मुलुकका सबै भागमा आफ्नै मुद्रा चलनचल्तीमा ल्याउने उद्देश्यले स्थापना भएको नेपाल राष्ट्र बैंक ६८ औं वर्षमा प्रवेश गरेको छ । अहिले यो बैंक केन्द्रीय बैंकका रुपमा बैंकिङ तथा समग्र मौद्रिक क्षेत्रको नेतृत्व गरिरहेको छ ।
२०१३ सालसम्म नेपालमा द्वैध मुद्रा प्रयोग व्यापक थियो । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा नेपाली रुपैयाँ चलनचल्ती भएपनि झापादेखि कञ्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्राको बिगबिगी थियो ।
विशेष गरेर नेपालको तराई क्षेत्रमा नेपाली रुपैयाँको प्रचलन ब्यापक गराएर भारुको सटही दरलाई स्थिर बनाउने उद्देश्यले तत्कालीन राजा महेन्द्रले २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना गरेका थिए । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागु गरी तराईवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव गराउने उद्देश्य अनुरुप नेपाल राष्ट्र बैंकको स्थापना भएको हो ।
राष्ट्र बैंकको स्थापना भएपछि प्रथम गभर्नरको जिम्मेवारी स्वर्गीय हिमालयशम्सेर राणाले प्राप्त गरेका थिए । देशभरी एउटै मुद्रा चलनचल्तीमा ल्याउन उद्देश्यले केन्द्रीय बैंकको स्थापना भएपनि केन्द्रीय बैंकलाई नोट निष्कासन गर्नेदेखि सरकारको आर्थिक सल्लाहकारको भूमिका समेत दिइएको थियो ।
राष्ट्र बैंकको स्थापना हुनु अगाडि नेपालले आर्जन गरेको विदेशी मुद्रा पनि भारतीय रिजर्भ बैंकमा राख्ने गरिएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् । नेपालको आफ्नै विनियम नीति बनाउने र विदेशी विनिमय सञ्चितिको व्यवस्थापन गर्नु पनि राष्ट्र बैंक स्थापनको उद्देश्य रहेको क्षेत्रीको तर्क छ ।
‘राष्ट्र बैंकको स्थापना हुनु अगाडि नेपालले आर्जन गरेको विदेशी मुद्रा पनि भारतीय रिजर्भ बैंकमा राख्ने गरिएको थियो । नेपालको आवश्यकताअनुसार नेपालले माग गरेपछि मात्रै उनीहरुले दिने गरेका थिए,’ उनले भने, ‘विदेशी विनिमय व्यवस्थापन गर्ने काम पनि नेपाल राष्ट्र बैंकको स्थापनासँगै सुरु भएको हो ।’
नेपाल राष्ट्र बैंकको स्थापना अगाडि नै नेपालमा नोट निष्कासन हुने गरेको थियो । तर, नेपाल राष्ट्र बैंकको स्थापनापछि नोट निष्कासन गर्ने अधिकार नेपाल राष्ट्र बैंकले पाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार जुद्ध शमशेरको पालामा पहिलोपल्ट नेपाली नोट निष्कासन भएको थियो । त्यसबेला कागजको मुद्रा निष्कासन गर्दा सुरक्षण राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैंक स्थापना भएपछि नोट निष्कासन गर्ने प्रबन्ध गरियो ।
त्यसको अर्थ नोट निष्कासन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी धरौटी राख्नुपर्ने ऐन नियम बन्यो । नोट निष्कासन गरिसकेपछि नोट च्यातियो, मैलो भयो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि नेपाल राष्ट्र बैंकको स्थापना भएपछि भएको हो ।
नेपाल राष्ट्र बैंकले नोट निष्कासन गर्नुपूर्व सदर मुलुकी खानाबाट नोट निष्कासन हुने गर्थ्यो । त्यसमा खजाञ्चीको नाम हुन्थ्यो । तर, उनको हस्ताक्षर हुँदैनथ्यो । २०१६ सालदेखि भने नोट निष्कासन गर्ने अधिकार नेपाल राष्ट्र बैंकले पायो । त्यसपछि निष्कासन भएका नोटमा प्रथम गभर्नर हिमालय शमशेर राणाको हस्ताक्षर थियो । त्यपछि निष्कासन भएका नोटमा गभर्नरको हस्ताक्षर हुँदै आएको छ ।
केन्द्रीय बैंकले नै सरकारको बैंकको रुपमा समेत काम गर्दै आएको छ । १४ वैशाख २०१३ मा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि सोही मितिदेखि राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी हिमालय शम्शेर राणाले सम्हालेका थिए । अर्थ सचिवका रुपमा ४ वर्ष ८ महिनाको कार्यकाल पूरा गरेपछि राणालाई तत्कालीन राजा महेन्द्रले नै राष्ट्र बैंकको ऐन बनाउनेदेखि कार्यालय स्थापनाको जिम्मेवारी दिएका थिए ।
हिमालय शमशेर राणा १४ वैशाख २०१३ मा राष्ट्र बैंकको पहिलो गभर्नर बनेयता राष्ट्र बैंकले ६८ औं वार्षिकोत्सव मनाइरहँदा १७ जना गभर्नर भइसकेका छन् । २२ माघ २०७९ मा प्रथम गभर्नर राणाको निधन भएको थियो ।
मूल्य र शोधनान्तर स्थिरता कायम गर्न मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन गर्नु, बैकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न बैकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्नु र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्नु नेपाल राष्ट्र बैंकका मुख्य उद्देश्यहरू हुन् । ‘आधुनिक, गतिशील, विश्वसनीय र प्रभावकारी केन्द्रीय बैंक’ भन्ने नेपाल राष्ट्र बैंकको दूरदृष्टि हो ।
६८ वर्षको इतिहासमा राष्ट्र बैंकले स्थापनाको उद्देश्यअनुसारको भूमिका निर्वाह भएको पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘सार्वभौम मुलुक भएपछि आफ्नो मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने हो । तराईका केही भाग र भारतमा रोजगारीमा रहेका केही दुर्गम क्षेत्रमा बाहेक अन्य स्थानमा नेपाली मुद्राले स्थान लिएकै छ,’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘राष्ट्र बैंकको उद्देश्य बैंकिङ प्रवर्द्धन पनि हो । अहिले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेकोले राष्ट्र बैंकको उद्देश्य पुरा भएको छ भन्न सकिन्छ ।’
६८ वर्षको इतिहासमा पनि केन्द्रीय बैंकको स्वायत्ततालाई लिएर बेला बेला प्रश्न उठ्ने गरेको छ । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो ।
‘राष्ट्र बैंक अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ’ नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भनिएको छ । तर, अहिले पनि केन्द्रीय बैंकमाथि सरकारको हस्तक्षेप भएको भन्दै बेलाबेला प्रश्न उठ्ने गरेको छ ।
पूर्वगभर्नर क्षेत्री भने दागरहित क्षेत्र कुनै पनि नहुने बताउँछन् । पश्चिमा देशको उदाहारण दिंदै उनले २ प्रतिशत महँगी झेलिरेको देशले पनि अहिले दाहोरो अंकमा मूल्यवृद्धि भोगिरहेको उदाहरण दिए ।
प्रतिक्रिया 4