
१४ वैशाख, विराटनगर । ‘सुनसरीको अमडुवामा साढे ६ सय विघा जग्गा छ, त्यसलाई औद्योगिक क्षेत्र बनाउन माग गरेको १५ वर्षजति भयो, तर अहिलेसम्म काम अघि बढेन । विराटनगरमा प्रदर्शनी स्थल निर्माणको माग गर्दा पनि बजेट आएर तर अरु नयाँ सहरमा बनिसक्यो’, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको अर्थमन्त्री डा. प्रकाशशरण महतसँग गुनासो गरे ।
बिहीबार अर्थमन्त्री महत पूर्व बजेट छलफलका लागि विराटनगर आएका बेला गुनासो राख्ने उनी मात्रै थिएनन् । उद्योग संगठनमा आयोजित कार्यक्रममा बोल्ने निजी क्षेत्रका धेरै प्रतिनिधिले अर्थमन्त्रीसमक्ष गुनासो गरे ।
विराटनगरका उद्योगी व्यवसायीले बैंकको ब्याजदर घटाउनुपर्ने, गुणस्तरीय विद्युत आपूर्ति हुनुपर्ने, मौद्रिक नीति सच्याउनुपर्ने, तरलता अभाव गर्नुपर्ने, खुला सीमाबाट हुने आयात रोक्नुपर्नेलगायत माग राखे ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगर–बथनाहा रेल्वेको काम छिटो सक्ने वातावरण बनाउन माग गरे । रेल्वे सञ्चालन नहुँदा भारत तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्दा महंगो परेको उनले बताए । रेल्वे सञ्चालन भए निजी क्षेत्रलाई सामान आयातमा लाग्ने भाडा कम हुने प्याकुरेलको भनाइ छ ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरमा प्रदर्शनी स्थल निर्माणका लागि बजेट विनियोजन गर्न माग गरे । सुनसरीको अमडुवामा रहेको साढे ६ सय विघा सरकारी जग्गामा आर्थिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्न पनि माग गरे । वर्षाैंदेखि एउटै विषय राख्दा पनि सम्बोधन नभएको बताए । बैंकको चर्काे व्याजदरका कारण निजी क्षेत्र धारासायी बनेको उनले बताए ।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भारतबाट हुने चोरी तस्करी नियन्त्रण गर्न माग गरे । खुला सीमाका कारण हुने तस्करीले नेपालको ठूलो राजस्व गुमेको बताउँदै उनले चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर परेको बताए ।
खुल्ला सीमा भएका कारण बजारको मागको ५० प्रतिशत हाराहारी खाद्यान्न र अन्य वस्तु आयात हुँदा राज्यलाई नोक्सान भएको बताउँदै चोरी पैठारी रोक्न माग गरे ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले पनि तस्करी नियन्त्रण गर्न माग गरे । चामल भन्दै चिनी र पानीको नाममा महंगा मदिरा आयात हुने गरेको उनको गुनासो छ ।
तरलता अभाव अन्त्य गर्न राज्यले लुकाइएको पैसा बाहिर ल्याउनुपर्ने उनले बताए । घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकतामा राखेर नीति बनाउन माग गरे । निजी क्षेत्रलाई पर्याप्त विद्युत आपूर्तिको माग गर्दै घिमिरेले बैंकको ब्याजदर पनि घटाउने नीति बनाउन सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य देवकीनन्दन अग्रवालले नेपालमा हुने अवैध आयात रोक्न सके राजस्व वृद्धि हुने बताए ।
पर्यटन व्यवसायी पूण्य भट्टराईले राष्ट्र बैंकको नीतिका कारण बैंकहरु मिटरब्याजी भएको गुनासो गरे । गर्भनरका कारण निजी क्षेत्र धरासायी भनेको उनले बताए ।
बैंकहरुलाई राष्ट्र बैंकले संरक्षण गरेका कारण मनोमानी बढेको बताउँदै उनले निजी क्षेत्रमैत्री नीति बनाउन माग गरे ।
निजी क्षेत्रको गुनासो सुनेका अर्थमन्त्री महतले जवाफमा आफू अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न इमान्दार भएर काम गर्ने बताए । उनले निजी क्षेत्रमा पारदर्शिताको कमी भएको भन्दै सच्याउन आग्रह गरे ।
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि समग्र अर्थतन्त्र र देशलाई फाइदा पुग्ने गरी बजेट बनाउने अर्थमन्त्री महतले बताए । उनले खुकुलो मौद्रिक नीतिमार्फत निजी क्षेत्रको माग सम्बोधन गर्ने आश्वासन दिए ।
प्रतिक्रिया 4