+
+

जिया खान आत्महत्या प्रकरण : सुरज पञ्चोलीले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १३:५९

काठमाडौं । बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विशेष अदालतले शुक्रबार अभिनेता तथा प्रेमी सुरज पञ्चोलीलाई सफाइ दिएको छ ।

फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले फैसलामा भनेको छ, ‘तपाईंविरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाइ दिइन्छ ।’ सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो ।

जियाले ३ जुन २०१३ मा मुम्बईस्थित फ्ल्याटमा आत्महत्या गरेकी थिइन् । घटनाको १० वर्षपछि अदालतले यस मुद्दामा फैसला सुनाएको हो । जियाकी आमाको उजुरीमा पञ्चोली पक्राउ परेका थिए । उनलाई पछि जमानत दिइएको थियो ।

जियाको घरबाट प्रहरीले ६ पृष्ठको सुसाइड नोट प्राप्त गरेको थियो । जसका अनुसार जिया सुरजसँगको सम्बन्धको कारण निकै दु:खी थिइन् । यसपछि जियाकी आमा राबिया खानले सुरजविरुद्ध मुद्दा दायर गरिन् । सुरज अभिनेता आदित्य पञ्चोली र जरिना वहाबका छोरा हुन् ।

सुरजकी आमा तथा अभिनेत्री जरिना वहाबले भनिन्, ‘म छोरासँग अदालतमा उपस्थित हुनेछु । यी १० वर्ष मेरो छोराको लागि नर्कजस्तै थिए । जब उसले मलाई हेर्छ, म उसको पीडा महसुस गर्छु । मलाई थाहा छ उनी निर्दोष छन्, तर म केही गर्न सक्दिनँ । मलाई अझै पनि भगवानप्रति भरोसा छ ।’

जिया खानले आफ्नो डेब्यु फिल्ममा अमिताभ बच्चनसँग काम गरेकी थिइन् । रामगोपाल बर्माको निर्देशनमा बनेको यो फिल्मको नाम ‘निःशब्द’ थियो । त्यसपछि उनले आमिर खानको ब्लकबस्टर फिल्म ‘गजनी’मा काम गरिन् । उनको अन्तिम फिल्म अक्षय कुमार स्टारर ‘हाउसफुल’ थियो । गजनी र हाउसफुल दुवै फिल्मले १०० करोडभन्दा बढीको कमाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?