+

भिटामिन ‘ई’को कमी हुँदा के हुन्छ ?

२०८० वैशाख  १६ गते ९:५५ २०८० वैशाख १६ गते ९:५५
भिटामिन ‘ई’को कमी हुँदा के हुन्छ ?

काठमाडौं । शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन विभिन्न खानेकुराबाट मिल्छ । साधारणतया भिटामिन ए, बी, सी र डी लाई लिएर हामी सचेत हुन्छौं तर शरीरलाई अतिआवश्यक पर्ने भिटामिन ईको विषयमा भने धेरैले चासो दिएको पाइँदैन ।

भिटामिन ईको कमी भएमा शरीरमा सामान्यदेखि गम्भीर खालका समस्या देखिन सक्ने पोषणविद् लीलबहादुर नेपाली बताउँछन् । ‘सबैभन्दा बढी शरीरलाई चाहिने भिटामिन सी र डी जस्तै, भिटामिन ई पनि शरीरको लागि अतिआवश्यक तत्व हो । तर यसबारे धेरैको ध्यान पुगेको देखिंदैन,’ उनी भन्छन् ।

भिटामिन ईको स्रोत

पोषणविद् नेपाली भिटामिन ई हामीले खाने खानाबाटै प्राप्त गर्न सकिने बताउँछन् । भिटामिन ईको कमी वनस्पतिको तेल, विभिन्न फलफूल र तरकारीका बीउ, सुख्खा फलफूल र हरियो सागसब्जीबाट पूर्ति गर्न सकिन्छ । बदाम, ओखर, सूर्यमुखीको बीउ, ब्रोकाउली र पालक, मासु, अण्डा साथै अन्य धेरै खाद्य पदार्थमा भिटामिन ई प्रचुर मात्रामा पाइने नेपाली बताउँछन् । ‘धेरैले भिटामिन ई पनि पूरकको रूपमा लिन्छन्,’ उनी भन्छन् ।

भिटामिन ईका फाइदा अनेक

पोषणविद् नेपालीका अनुसार भिटामिन ई एक घुलनशील तत्व हो । यसमा हुने ‘अल्फा कोटोफेरल’ले शरीरमा बिकार उत्पादन हुन दिंदैन ।

‘भिटामिन ई एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण भएकाले हाम्रो कोषिकाहरुलाई फ्री रेडिकलबाट जोगाउन मद्दत गर्छ,’ नेपाली भन्छन्, ‘अर्कोतर्फ जब हामी धुवाँ वा विकिरणको सम्पर्कमा आउँछौं, शरीरले खाद्य पदार्थ ग्रहण गर्दा बन्ने अणुहरूमा फ्री रेडिकल हुन्छ ।’

भिटामिन ई छाला र कपाल सुन्दर बनाउने भिटामिन भनेर पनि चिनिन्छ । यसले त्वचाको रुखोपन, चाउरी, समयभन्दा अगावै बुढो हुने तथा सूर्यको हानिकारक ‘अल्ट्रा भोइलेट’ किरणबाट बचाउन सक्ने पोषणविद् नेपाली बताउँछन् ।

यसले कुनै अंग भाँचिएको ठाँउमा जोड्न पनि मद्दत पुर्‍याउँछ । भिटामिन ईकै मद्दतले कोषिकाहरुलाई हानि पुग्न पाउँदैन । शरीरमा भिटामिन ईको मात्रा बढी हुने व्यक्तिमा मुटुरोगका खतरा कम हुने र स्तन क्यान्सरको लागि उपयोगी हुने विभिन्न अध्ययनले देखाएको छ ।

शरीरको प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कको लागि पनि यसको भूमिका हुने नेपाली बताउँछन् ।

भिटामिन ई कमी भए के हुन्छ ?

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस)ले दिएको जानकारीअनुसार भिटामिन ईको कमी हुँदा मांसपेशी कमजोर हुने, सुन्निने, बेचैनी हुने, हिंड्न गाह्रो हुने, सधैं बिरामी महसुस हुने जस्ता लक्षण महसुस हुन्छ ।

भिटामिन कमीको सबैभन्दा ठूलो लक्षण मांसपेशी कमजोरी नै पोषणविद् नेपाली पनि बताउँछन् । उनका अनुसार यसको कमीले स्नायु र मांसपेशीमा क्षति पुर्‍याउन सक्छ । भिटामिन ईको कमीले आँखाको रेटिना पातलो हुने र आँखाको भित्री तहमा समस्या हुन्छ ।

‘यसको कमीले स्नायु र मांसपेशीको समस्या देखिन्छ । हातखुट्टा सुन्निने, झमझमाउने हुनसक्छ,’ उनी भन्छन्, ‘भिटामिन ईको कमीले प्रतिरक्षा कोषिकालाई रोक्न सक्छ । उमेर बढ्दै जाँदा प्रतिरक्षा प्रणालीमा हुने परिवर्तनका कारण वृद्धवृद्धामा भिटामिन ईको आवश्यकता बढी हुन्छ ।’

भिटामिन ईको कमी भएको देखिएको छ र खानाबाट पूर्ति हुन नसकेको अवस्थामा चिकित्सकको सुझावमा सप्लिमेन्ट पनि लिन सकिने नेपाली बताउँछन् ।

कुन उमेरमा कति ?

अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले विभिन्न उमेरमा भिटामिन ई दैनिक सेवन गर्नुपर्ने उल्लेख गरेको छ ।

नवजात शिशु : ४ मिलिग्राम

६ महिनादेखि १ वर्ष : ५ मिलिग्राम

१ देखि ३ वर्ष : ६ मिलिग्राम

४ देखि ७ वर्ष : ७ मिलिग्राम

८ देखि १३ वर्ष : ११ मिलिग्राम

१४ वर्षभन्दा माथिः १५ मिलिग्राम

स्तनपान गराउने महिला : १७ मिलिग्राम

भिटामिन ई क्याप्सुल लिंदा सावधानी

भिटामिन ई क्याप्सुलको साइड इफेक्ट विरलै देखिन्छ । यद्यपि पछिल्ला केही अध्ययनले यसले छालामा दाग आउने समस्या देखिएको पोषणविद् नेपाली बताउँछन् ।

त्यस्तै, भिटामिन ई सप्लिमेन्टले रगत पातलो गर्ने र अन्य औषधि लिनेका लागि हानिकारक हुनसक्छ । कुनै पनि सप्लिमेन्ट लिनुअघि चिकित्सकसँग परामर्श भने लिनैपर्छ ।

भिटामिन ‘ई’
लीलबहादुर नेपाली
लेखक
लीलबहादुर नेपाली
पोषणविद्

नेपाल स्वास्थ्य व्यवसायी परिषद् दर्ता नम्बर : ए-टी : १७३५ अध्ययन : जनस्वास्थ्य र पोषण विज्ञानमा स्नातकोत्तर हाल यूएसएआईडी-सुहारा-हेलेन केलर इन्टरनेसनलमा पोषण र स्वास्थ्य सल्लाहकारको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?