
१५ वैशाख, काठमाडौं । सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न राष्ट्रिय सहकारी महासंघले माग गरेको छ । शुक्रबार ललितपुरमा सहकारी समस्या समाधान समितिले पत्रकार सम्मेलन गरी सहरकारीबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीहरुको एकाघर संगोल परिवारको चलअचल सम्पत्ति रोक्का राख्न पाउनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।
सहकारी समस्या समाधान समितिकी संयोजक ओमदेवी मल्लले व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरी सहकारी ऐन संशोधन गर्न बनेको विधेयकको दफा तत्काल खारेज गर्नुपर्ने बताइन् । उनले सरकारसँग १३ वटा माग राख्ने क्रममा समितिले वित्तीय सहकारीमा देखिएको तरलता समस्या तत्काल समाधानका लागि राष्ट्रिय सहकारी बैंकमार्फत पर्ने परिचालन हुने गरी सहुलियत व्याजदरमा ३ वर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउनुपर्ने माग गरिन् ।
उनले सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेका भन्दै त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही गर्न माग गरिन् ।
सहकारी ऐन २०७४ र नियमावली २०७५ मा भएको ‘सन्दर्भ ब्याजदर’ सम्बन्धी व्यवस्था अव्यवहारिक भएको हुँदा सो खारेज गरी बजार अनुसार ब्याजदर निर्धारण हुने स्वचालित प्रणालीको व्यवस्था तत्काल गर्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक तथा वित्तीय क्षेत्रको लगानी घरजग्गा कारोबारमा गएको बताए । उनले घरजग्गा कारोबार कम भएकाले सहकारीहरुमा तरलता अभाव भएको बताए । सहकारीमा राखेको पैसा सहकारीसँग अविश्वास भएको कारण विभिन्न बहानामा पैसा झिकिएको बताए ।
प्रतिक्रिया 4