
१६ वैशाख, बुटवल । पाठ्यक्रमको पढाइलाई मात्रै प्राथमिकता दिंदा नेपालमा संस्कारयुक्त शिक्षाको अभाव भएको शिक्षा क्षेत्रका सरोकारवालाले औंल्याएका छन् ।
विद्यालय तहको पाठ्यक्रमबाट संस्कृत र नैतिक शिक्षा हटाइएपछि विद्यार्थीहरुमा संस्कारयुक्त शिक्षाको कमी हुँदै गएको भन्दै संस्कारविनाको शिक्षा अर्थहीन हुने उनीहरुको भनाइ छ ।
बुटवलको अक्सफोर्ड माविले संस्कारयुक्त शिक्षाका सम्बन्धमा दुई हजार बढी अभिभावकसँग गरेको संवाद र ‘बनौं संस्कारी’ पुस्तक विमोचन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विद्यालय तहदेखि उच्च शिक्षासम्म संस्कारसहितको शिक्षा आवश्यक रहेको भए पनि त्यो हुन नसकेको स्वीकार गरे ।
‘संस्कारयुक्त शिक्षाले मात्रै विद्यार्थीलाई शारीरिक र मानसिकरुपमा स्वस्थ बनाइ भविष्यमा देशभक्त, सक्षम र योग्य नागरिक बनाउंछ,’ नगर प्रमुख पाण्डेले भने, ‘तर अपवाद वाहेक शैक्षिक संस्थाहरु विद्यार्थीको मार्कसिटमा कसरी धेरै नम्बर ल्याउनेमा मात्रै केन्द्रित हुँदा संस्कारयुक्त शिक्षाको खडेरी भयो ।’
अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले विद्यार्थीलाई संस्कारयुक्त बनाउन सके मात्रै परिवार,समाज र देशको हित हुन सक्ने बताइन् ।
अक्षराले संस्कारयुक्त शिक्षालाई पहिलो प्राथमिकता दिएको र यसलाई अरुले पनि अनुशरण गर्न थालेको उनले बताइन् ।
वाग्मती सरसफाइ अभियानका अगुवा मध्ये एक लेखक डा.राजु अधिकारीले विद्यालय तहदेखि उच्च शिक्षासम्म विद्यार्थीलाई संस्कारयुक्त शिक्षाको खाँचो रहको बताए ।
अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले संस्कारयुक्त शिक्षाका लागि सुरुमा अभिभावक पनि संस्कारयुक्त हुनुपर्ने भएकाले अभिभावकलाई असल संस्कार सिकाउन थालेको बताए ।
काठमाडौंको अक्षरा स्कुलसँग सम्झौता गरी ‘बनौं संस्कारी’ पाठ्यक्रम लागु गरेको भुसालले बताए ।
प्रतिक्रिया 4