
काठमाडौं । ‘नाइँ नभन्नु ल ६’ हेर्नुभएको छ भने फिल्मको अन्त्यमा त्यहाँ दुई सरप्राइज पाउनुहुनेछ । निर्माताले सातौ श्रृंखलाको घोषणा गर्दै लिड अभिनेत्रीबारे संकेत गरेका छन् ।
अन्त्यमा ‘जीवनले निरन्तरता पाउनेछ’ लेख्दै सातौ श्रृंखला निर्माणको स्पष्ट संकेत गरिएको छ । फिल्मको अन्त्यमा स्वस्तिमा खड्कालाई प्रस्तुत गर्दै आगामी श्रृंखलाको शीर्ष भूमिकामा उनी हुनसक्ने जनाइएको छ ।
स्वस्तिमाको पात्र प्रेमीलाई भेट्न कुनै गन्तव्यतिर हिँडेपछि फिल्म टुंगिन्छ । अनि पर्दामा ‘लाइफ टु बी कन्टिन्यूड’ लेखिएको छ । स्वस्तिमा यो फिल्मको पाँचौ श्रृंखलामा समेत देखिएकी थिइन् ।
सातौं श्रृंखलामा उनको कमब्याक हुने देखिएको हो ।
निर्माता तथा निर्देशक विकासराज आचार्यले अनलाइनखबरसँग कुरा गर्दै दर्शकको मागको आधारमा सातौं श्रृंखला निर्माण हुने बताए । ‘अन्तिम यही नै हुन्छ भन्ने छैन । दर्शकले जहिलेसम्म चाहना राख्नुहुन्छ फिल्म बनिरहन्छ’ उनले भने । छैटौं श्रृंखला शुक्रबार रिलिज भएको छ ।
छैटौं श्रृंखलामा आँचल शर्मा र आशिर्वाद क्षेत्रीको शीर्ष भूमिका छ ।
प्रतिक्रिया 4