
बा !
पोहोर नै हो
एक वर्ष बढी भो
परीक्षा दिएको
टि. यू. रिजल्ट निकाल्दैन ।
छ महिना पहिले
लामो लाइनमा बसेर भरेको
राष्ट्रिय परिचयपत्र
अलपत्र पर्ला जस्तो भो रे ।
मंसिरतिर
लोकसेवाको अनलाइन फाराम भरेको
अहिले प्रवेशपत्र खोज्दा देखिदैन
डेटा हरायो रे
फाराम फेरि भर्नु पर्ला जस्तो छ रे !
बल्खु नजिकै बाटो खनेर कहिले नभ्याइने भो बा
बनाउँछन्
भत्काउँछन्
फेरि बनाउँछन्
फेरि भत्काउँछन्
भूपि शेरचनको कविता लेखाइ झैं
त्यहाँको ट्राफिक लाइट नि
‘टेरिफिक’ छ बा
कहिले बल्छ
कहिले निदाउँछ
अहिले भएको भए भूपि कति कविता लेख्थे होला !
कस्तो कविता लेख्थे होला !
कसरी यो देश देख्थे होला !
बा !
मेरो साथीले बिहान भन्दैथ्यो
उनको आमाको एउटा अपरेसन गर्नुपर्ने रे
वीर, टिचिङमा गएको
लामो क्यू छ रे
छ महिनापछि मात्र पालो आउने रे
चिनेको कोही छ भने यसो भन्देन भन्दैथ्यो !
बा !
पल्तिरको सन्तोष भन्थ्यो
यहाँ
कि त मान्छे चिन्नुपर्छ
कि त मान्छे ‘किन्नु’ पर्छ
नभए पाइदैन केही
विदेशतिर हिन्नुपर्छ
धेरै पछि
मेसेन्जरमा भिडियो कल भाथ्यो हिजो
उतैको पीआर पाएछ
हजुरको सुगर प्रेसरबारे नि सोध्दैथ्यो
दबाई चलिरहेको बताइदिएँ
अनि
मैले आफ्नो नि प्रगति सुनाइँदिए
‘वान फोर्टी बाई नाइन्टी’
उसले धसेर ब्याङ्य कस्यो बा
साँच्चै कसेरै दियो बा
भन्यो,
देशमै रहेर जीडिपी बढाउँछु भन्थिस्
बीपी बढाएर बसेछ्स् !!!
प्रतिक्रिया 4