+

ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

२०८० वैशाख  १७ गते १७:२४ २०८० वैशाख १७ गते १७:२४
ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

१७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ ।

प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ ।

ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् ।

फाइनलिष्ट टिमहरु नेपाल र यूएईले यसअघि नै जुलाइमा हुने यो प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् । प्रतियोगिताको आयोजनास्थलको निर्णय भइसकेको छैन ।

१३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विना क्षति ४१ रन बनाउँदा तेस्रो स्थानका लागि भएको खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो ३ बजेपछि वर्षा रोकिए पनि मैदानमा पानी जमेर खेल्न नमिल्ने भएपछि रद्ध गरिएको हो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो ।

कुवेतलाई सस्तैमा समेट्न ओमानका जय ओडेड्राले ५.३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ५ विकेट लिएका थिए । विलाल खानले २ विकेट लिएका थिए । कुवेतका ओपनर अदान इद्रिसले सर्बाधिक ३४ तथा सयद मोनिवले २८ रन जोडे ।

यसअघि सेमिफाइनलमा पनि कुवेत र नेपालबीचको खेल वर्षाले रद्ध भएको थियो । समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनलमा पुगेको थियो भने कुवेतले तेस्रो स्थानका लागि प्लेअफ खेल्नुपरेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बीको उपविजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि सोमबार नेपाल र यूएई आमने सामने हुँदैछन् । यो खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्नेछ ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय