
काठमाडौं । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जंगलले उपन्यास लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा साहित्यिक पत्रकार घिमिरेले भैरव अर्याल र आफ्नो सम्बन्धबारे रोचक संस्मरण सुनाए । आफूले देखेका, भोगेका र आजसम्म भैरव अर्यालबारे संकलन भएका तथ्य प्रोल्लास सिन्धुलीयलाई उपलब्ध गराएर उपन्यास लेख्न लगाएको उनले सुनाए ।
यसैगरी अर्का वक्ता लेखक नारायण ढकालले विश्वप्रसिद्ध चित्रकार भ्यानगगको आत्मजीवनीपरक उपन्याससँग तुलना गर्दै भग्न भैरवको प्रशंसा गरे । ३३ वर्षको जीवनमा भैरव अर्यालले भोगेका जीवनका उतारचढावलाई प्रोल्लासले रोचक शैलीमा प्रस्तुत गरेको उनले बताए ।
कवि ज्योति जंगलले हास्यव्यंग्य शिल्पी भैरव अर्यालको बौद्धिकता, शिल्प र हास्यचेतको चर्चा गर्दै उपन्यासको भाषाशैली र प्रस्तुतिको चर्चा गरिन् ।
बुकहिलले प्रकाशन गरेको ३०२ पृष्ठको यो उपन्यासको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया 4