+
+

निरा पाण्डेको बीभत्स हत्या लुटपाटका लागि मात्रै ?

आरोपी समातिए, तर हत्याको कारण अपत्यारिलो

हालसम्म निराको शव त्रिवि शिक्षण अस्पतालमै छ । परिवारले अनुसन्धानमा पूर्णतः चित्त नबुझाई हालसम्म शव उठाउने निर्णय गरेको छैन । ‘लुट्नु मात्र कारण थियो भने किन त्यति धेरै पटक छुरा हानियो ?’, आफन्त हुमबहादुर पाण्डे भन्छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० वैशाख १७ गते २०:२३
निरा पाण्डे आचार्य हत्या आरोपमा पक्राउ परेका विनोद बिक (बीचमा)

१७ वैशाख, काठमाडौं । कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद बिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार राति १० बजे झापाको बिर्तामोडस्थित इलाम स्ट्याण्डमा रहेको एक होटलमा रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोलीले पक्राउ गरेको थियो । आइतबार बिहान काठमाडौं ल्याइएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार हालसम्मको अनुसन्धानले हत्या गर्नुको उद्देश्य लुटपाट मात्रै देखिएको छ ।

‘मृतक पाण्डेको घाँटीमा भएको सिक्री उनले चोरेर तारकेश्वर नगरपालिकास्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ’, आचार्यले भने, ‘पसलको गल्लामा भएको ११/१२ सय रुपैयाँ पनि उनले लगेको पाइएको छ ।’

आचार्यको सरस्वतीनगरस्थित पसलमा ७ वैशाखमा हत्या भएको थियो । प्रहरी प्रभाग, कपनकी प्रहरी निरीक्षक स्मृति सिलवालको टोलीले उनलाई ३ः३९ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगेको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।

पोष्टमार्टम जाँचका क्रममा उनको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको फेला परेको थियो । प्रहरीका अनुसार पहिले घाँटीमा, त्यसपछि शरीरमा पटकपटक छुरा हानेको देखिएकाले यो घटना सुनियोजित रुपमा रिसइबी साँध्न भएको हुनसक्ने आशंका थियो ।

तर आइतबार प्रहरीले पुगनपुग एक तोला सुन र ११०० रुपैयाँका लागि हत्या भएको सार्वजनिक गरेपछि आफन्तहरुले शंका गरेका छन् ।

कतिपय अनुसन्धान अधिकृतहरुले पनि यस्तो वीभत्स हत्याको कारण लुटपाट मात्र देखिनु ‘अनौठो’ भएको बताएका छन् ।

हालसम्म निराको शव त्रिवि शिक्षण अस्पतालमै छ । परिवारले अनुसन्धानमा पूर्णतः चित्त नबुझाई हालसम्म शव उठाउने निर्णय गरेको छैन । ‘लुट्नु मात्र कारण थियो भने किन त्यति धेरै पटक छुरा हानियो ?’, आफन्त हुमबहादुर पाण्डे भन्छन्, ‘त्यसैले यस विषयमा गम्भीर अनुसन्धान होस् भन्ने चाहना हो ।’

आफन्तले उनको शरीरबाट धेरै रगत नबगेको देखिएको विषयलाई पनि शंकास्पद मानेका छन् । ‘त्यसरी प्रहार हुँदा अन्यत्र रगतका छिटा देखिनुपर्ने तर, त्यस्तो धेरै रगत बगेकै देखिन्न’, उनले भने ।

प्रहरीले आरोपी सार्वजनिक गर्न लागेको थाहा पाएपछि आफन्तहरु केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को महाराजगञ्जस्थित कार्यालयसम्मै पुगेका थिए । तीमध्ये एक बालकृष्ण पाण्डेले बिक घटनामा संलग्न भएकोमा परिवारलाई कुनै शंका नभएको तर उनको मात्र संलग्नता हो त ? भन्ने प्रश्न रहेको बताए । उनले भन्छन्, ‘सबै घटनाक्रम हेर्दा योजनाबद्ध रुपमा घटना भएको हो भन्ने हाम्रो अनुमान हो ।’

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य भने सुरुमै मुटुसम्म पुग्ने गरी छुरा हानेपछि भित्रै रगत जमेको जस्तो देखिएको बताउँछिन् ।

‘पोष्टमार्टम गर्ने चिकित्सकहरुले पनि त्यही बताउनु भएको छ, यद्यपि भर्खर ल्याएर बयान थालेका छौं, अनुसन्धानका थुप्रै पाटा अझै बाँकी छन्’, उनी भन्छन्, ‘मुख्य कुरा यसमा संलग्न व्यक्ति प्रमाणसहित समातिएका छन् ।’

कागेश्वरी मनोहरा खोला नजिकै रहेको पिज्जा हब रेष्टुरेन्टमा आरोपी विनोद बिक साथीहरुसँग बस्दै आएका थिए । शनिबार साँझ उनी बस्ने कोठामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो ।

‘कोठाबाट रगत लत्पतिएको सर्ट र ब्याग बरामद भएको थियो’, कार्यालयका प्रमुख डा. मनोजकुमार केसीले अनलाइनखबरसँग भने, ‘प्रहरीले घटनास्थल वरपरबाट संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामरामा भएको दृश्यमा देखिएको सर्ट र ब्याग नै त्यहाँबाट बरामद गरेको हो ।’

बिकको कोठा पत्ता लगाएर कपडा बरामद गरेपछि झापा पुगेको ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को संयुक्त टोलीले बिर्तामोडबाट बिकलाई पक्राउ गरेको थियो । त्यसक्रममा बिक होटलमा दुई दिनदेखि बसिरहेको खुलेको थियो । ‘१४ र १५ गते उनी होटलमा बसेको देखिन्छ, १६ गते पक्राउ गरेर ल्यायौं’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘१३ र १४ गते उनी इटहरीमा बसेको देखिएको छ ।’

प्रहरी स्रोतका अनुसार आरोपित बिक विवाहित भएपनि उनको परिवारसँग राम्रो सम्बन्ध छैन । इटहरीमा उनी आफू सम्बन्धमा रहेको अर्को एक महिलासँग बसेका थिए । ‘उनलाई घटनाबारे थाहा भएको देखिएको छैन, उनलाई भेट्नु एक दिनअघि १२ गते बिक पूर्व गएको देखिएको छ’, ती अधिकृत भन्छन् ।

घटना भएपछि पाँच दिनसम्म उनी काठमाडौंमै बसेको प्रहरीले जनाएको छ । ‘त्यसअघि काठमाडौंमै सुन बिक्री गरेर कोठामा बसेको पाइएको छ’, एसएसपी आचार्य भन्छन्, ‘विक आर्थिक रुपमा एकदमै समस्यामा भएको देखिएको छ ।’

प्रहरीका अनुसार बिक पहिले झापाको ‘बेबी लोन डिस्को’मा बाउन्सर थिए । काठमाडौं आएर ‘भाइब्रेट क्लब’मा पनि काम गरे । ‘त्यसबेला उनी चाबहिलमा बसेको देखिएको छ, ७ वैशाखमा पनि चाबहिलबाट डुल्दै–डुल्दै सरस्वतीनगर पुगेको बयान दिएका छन्’, एआईजी बज्राचार्य भन्छिन्, ‘निरु किचन अगाडि मृतकलाई बसिरहेको देखेपछि पसल पनि ठूलो देखेर लुटपाट गर्ने योजना बनाए जस्तो देखिन्छ ।’

ब्यूरोका एसएसपी दिनेश आचार्यका अनुसार मध्याह्न २ बजेतिर पाण्डेलाई पसल बाहिर बिकले देखेका थिए । ‘२ः३३/३४ तिर भाँडा किन्ने नाममा भित्र छिरेको देखिन्छ, तर त्यही बेला छोरी चिया लिएर पुगेको देखिन्छ’, आचार्यले भने, ‘छोरी आएपछि अर्डर गरेको सामान छाडेर एटीएमबाट पैसा निकालेर आउँछु भन्दै गएको देखिन्छ ।’

फर्किएर २ः४४ तिर पसलमा छिरेर निरु पाण्डेलाई आक्रमण गरेको आचार्य बताउँछन् । प्रहरीका अनुसार सामान निकाल्न लगाएर सुरुमा पछाडिबाट मुड्कीले हानेको पाइएको छ । त्यसपछि सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि छुरा प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त बालकृष्ण पाण्डे पसलको छुरा प्रहार गरिएको भए त्यो किन बरामद भएन भन्ने प्रश्न उठेको बताउँछन् । ‘झापाको मान्छे एक जना मात्रले कसरी यहाँ आएर १८/२० पटक हानेर गयो ? अरु पनि छ कि भन्ने आशंका हो’, पाण्डेले सीआईबी प्रमुख बज्राचार्यलाई नै भेटेर भने, ‘यो योजनाबद्ध तरिकाले भएको हत्या हुनुपर्छ, त्यही भएर अहिलेसम्म दाहसंस्कार गरेका छैनौं ।’

बज्राचार्यले बिकको सानीआमाको घर पनि त्यहीँ क्षेत्रमा भएको बताउँदै पहिले त्यही क्षेत्रको डिस्कोमा काम गरेकाले उनका लागि कपन नयाँ ठाउँ नभएको जवाफ दिइन् ।

‘सुरुदेखि के के भयो भन्ने विषयका विभिन्न पाटोमा प्राविधिक पक्षबाट पनि अनुसन्धान गरिरहेका छौं, सामाजिक डाइनामिक्स पनि छ कि भन्ने हेरिरहेका छौं’, सीआईबी प्रमुख बज्रचार्य भन्छिन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?