
१७ वैशाख, काठमाडौं । आर्थिक मन्दीको असर आर्थिक वृद्धिदरमा देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको दास्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर १.१ प्रतिशतले संकुचित भएको केन्द्रीय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रथम त्रैमासमा १.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर थियो । दोस्रो त्रैमासमा भने आर्थिक मन्दीका कारण आर्थिक वृद्धिदर नकारात्मक बन्न पुगेको छ ।
केन्द्रीय तथ्यांक कार्यालयका अनुसार मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १.१ प्रतिशतले कमि हुने प्रारम्भिक अनुमान रहेको उल्लेख गरेको छ ।
त्यस्तै मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले कमि हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ ।
यसअघि कोभिड–१९ को कारण अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो । लकडाउनका कारण आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ०.२ प्रतिशत र तेस्रो त्रैमासमा १५.९ प्रतिशतले संकुचित भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७७/७८ मा पनि कोभिड–१९ को प्रभाव कायम हुँदा दोस्रो त्रैमासको आर्थिक वृद्धिदर २ प्रतिशतले ऋणात्मक भएको केन्द्रीय तथ्यांक कार्यालयको विवरण छ ।
निमार्ण, व्यापार र उत्पादन क्षेत्रको वृद्धिदर नै संकुचित
निमार्ण क्षेत्रमा देखिएको मन्दीको प्रभाव आर्थिक वृद्धिदरमा परेको देखिएको छ । निर्माण क्षेत्रमा सबैभन्दा बढी २०.६ प्रतिशतले उत्पादनमा कमि हुने प्रारम्भिक अनुमान रहेको केन्द्रीय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको जनाएको छ ।
यसैगरी खानी तथा उत्खनन् क्षेत्रको उत्पादन १६.४ प्रतिशतले संकुचित हुँदा व्यापार क्षेत्र ९.७ प्रतिशतले संकुचित भएको केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख छ । यातायात क्षेत्र ५.५ प्रतिशत र औद्योगिक उत्पादनमा ४.३ प्रतिशतले कमि हुने प्रारम्भिक अनुमान रहेको केनिद्रय तथ्यांक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षकोको दोस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्षको वर्षको दोस्रो त्रैमासिकबीच क्षेत्रगत तुलनागर्दा सबैभन्दा बढी आर्थिक वृद्धिदर आवास र भोजन सेवामा हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । आवास र भोजन सेवामा २०.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको हो । पर्यटकको आगमनमा भएको सुधारात्मक वृद्धिले यस क्षेत्रमा प्रत्यक्षरुपमा सकारात्मक असर परेको उल्लेख गरेको छ ।

अर्थतन्त्रमा ठूलो हिस्सा रहेको कृषि क्षेत्रको उत्पादन वृद्धिदर २.६ प्रतिशत, पानी आपूर्तिको ०.१ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको उत्पादन १.९ प्रतिशत, घरजग्गा कारोबारको उत्पादन २.२ प्रतिशत, प्रशासनिक सहयोगी क्षेत्रको उत्पादन ४.३ प्रतिशतले वृद्धि भएको छ । यस्तै शिक्षा क्षेत्रको उत्पादन २.६ प्रतिशत, स्वास्थ्य क्षेत्रको उत्पादन १.५ प्रतिशत, अन्य सेवाको उत्पादन ०.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय तथ्यांक कार्यालयको अनुमान रहेको छ ।
मौसमी प्रभाव समायोजित त्रैमासिक सूचकांकलाई हेर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन, भदौ र असोज) भन्दा दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुस) मा कुल २१ प्रकारका उद्योगहरु मध्ये पाँचवटाको उत्पादनमा वृद्धि दर ऋणात्मक हुने र बाँकी उद्योगहरुको उत्पादनमा धनात्मक रहने प्रारम्भिक अनुमान रहेको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ । वित्तीय तथा बीमा सम्बन्धी क्रियाकलापहरुमा सबै भन्दा धेरै ४.०७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको उल्लेख छ । यसैगरी स्वास्थ्यमा २.३ प्रतिशत, शिक्षामा २.२ प्रतिशत र कृषिको क्षेत्रमा १.६ प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ ।
सोही अवधिमा खानी तथा उत्खननको क्षेत्रमा सबैभन्दा बढी १८.५ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ । आवास तथा भोजन सेवामा ६.६ प्रतिशत, औद्योगिक उत्पादनमा ६.२ प्रतिशत, निर्माणमा ६.१ प्रतिशत, व्यापारमा ४.३ प्रतिशत र यातायातको क्षेत्रमा ४.१ प्रतिशतले अघिल्लो त्रैमासिकको तुलनामा उत्पादनमा कमी हुने अनुमान रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4