
१७ वैशाख, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् ।
डा. पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका हुन् । पोखरामा शुक्रबारबाटै सुरु भएको अनिश्चितकालीन धर्ना कार्यक्रममा सरकारले डा पुनको मागलाई सम्बोधन नगर्दासम्म आफूहरुको आन्दोलन पनि जारी रहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
धर्ना कार्यक्रममा सहभागी अमर पुनले अनुसन्धानमा राज्यले सहयोग नगर्दा प्रतिभा हुँदाहुँदै पनि पलायन हुनुपर्ने स्थिति आएको सुनाए । उनले घरेलु मदिरा शुद्धीकरण गर्ने औचार आविष्कार बनाएका छन् । तर, राज्यको नीति नभएकै कारण बाहिर ल्याउन सक्ने स्थिति नभएको दाबी गरे ।
‘गण्डकी प्रदेश सरकारले आविष्कार केन्द्रलाई १० करोड दिने भनेको थियो । यो प्रोजेक्ट पनि त्यही अन्तर्गत नै हो । उधारो सम्झौताले गर्दा भएका काम पनि अगाडि बढ्न सकेको छैन,’ पुनले भने, ‘आविष्कार हुनुभन्दा अगाडि थुप्रै पटक अनुसन्धान हुनुपर्छ । तर, त्यसमा राज्यले ध्यान दिएन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री अशोक खड्काले नेपालमै उत्पादित वस्तुको बजारीकरणमा राज्य नै अनुदार भएको आरोप लगाए । ‘हामीसँग अध्ययन अनुसन्धान गर्ने जनशक्ति नै नभएका होइनन् । प्लेटफर्म दिइएन,’ उनले भने, ‘यो आन्दोलन हाम्रो देशको लागि हो । हाम्रो भावी पुस्ताको लागि हो ।’
प्रतिक्रिया 4