१७ वैशाख, काठमाडौं । नेपाल र भारतबीचको दृष्टि विहीन महिला टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले ३-१ ले जितेको छ ।
आइतबार भएको पाँचौ खेल वर्षाले प्रभावित बनेपछि नेपालले पाँच खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको हो ।
मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण १०-१० ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९२ रन बनाएको थियो ।
तर दोस्रो इनिङ्स वर्षाका कारण हुन नसकेपछि खेल रद्द भएको क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड (क्याब) नेपालले जनाएको छ ।
यसअघि भएको चार मध्ये तीन खेल नेपालले जित्दै एक अगावै सिरिज पक्का गरिसकेको थियो । सिरिज विजेता नेपालले नगद ८५ हजार प्राप्त गर्दा भारतले ५१ हजार प्राप्त गर्यो ।
यस्तै सिरिजमा बी वान तर्फ भारतकी सिमु दास प्लेअर अफ दि सिरिज घोषित भइन् । उनले १७० रन बनाइन् ।
बी टुतर्फ नेपालकी मनकेशी चौधरी र बी थ्री तर्फ नेपालकै विनिता पुन प्लेअर अफ दि सिरिज बनिन् । मनकेशीले २१३ र विनिताले ३४४ रन बनाएकी थिइन् । तीनै खेलाडीले १०-१० हजार नगद प्राप्त गरे ।
प्रतिक्रिया 4