
काठमाडौं । पुराना नेवार बस्तीमा चारैतिर घर अनि बीचमा खुल्ला ठाउँ । एकातिर सामूहिक भावनाको विकास, अर्कोतिर सामाजिक कार्य गर्न मिल्ने ठाउँ । नेपाल भाषामा चुक भनिने चोकका विशेषता हुन् यी ।
पुराना नेवार बस्तीहरु जति सुन्दर लाग्छन्, उति नै वैज्ञानिक पनि छन् । बस्तीमा सामूहिकता झल्काउन यसका चोक अनिवार्य निर्माण गरिन्थ्यो । तर आधुनिकतासँगै हिजोआज नेवार समुदायकै बस्तीमा पनि चोकहरु हराउँदै गएका छन् ।
के हो चुक ?
चुकले नेवार बस्तीको मौलिकता झल्काउँछ । नेवारहरुले घरबस्ती बनाउँदा चारैतिर घर र बीचमा खुला ठाउँ राखेर बनाउने गर्छन् । त्यही खुल्ला ठाउँलाई चुक अर्थात् चोक भनिन्छ ।
यो पछि अपभ्रंश हुँदै गएर नेपालीमा चोक भन्न थालिएको हो । चुक भनेको आयातकार, चारैतिर घरले घेरेको खुल्ला ठाउँ हो ।
चोक बनाउनुको उद्देश्य
सबै जनाको जमघट हुने र सहयोगी भावना विकास गर्ने उद्देश्यले घरहरुको बीचमा चोक बनाइने चलन चलेको हो । नेवार बस्तीमा चोक प्रायःजसो घरभित्र हुन्छ । घरको तलतलबाट गएपछि भित्र चोक पुगिन्छ । त्यस्ता चोकमा तिर्खा लागेमा पानी पिउन इनार, आराम गर्न, गफ गर्न, घाम ताप्न फल्चा राखिएको हुन्छ ।
के के गरिन्छ चोकमा ?
नेवार समुदायमा चोकमा जन्मदेखि मृत्युसम्मका संस्कार गरिने संस्कृतिविद् ओम धौभडेल बताउँछन् । ‘व्यक्तिगतमा लुगा धुने, नुहाउने, सुत्केरी हुँदा तेल लगाउने, बुढाबुढीहरु घाम ताप्न र मनका कुरा साट्ने थालो हो चुक,’ उनी भन्छन्, ‘सामाजिक कार्य नाचगान, चाडपर्व, जात्रा, भोज, बच्चाको पास्नी, बेलविवाह, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण, गुठीको भोज जस्ता अवसरमा झ्व भ्वय अर्थात सुकुल भोज यस्तै चोकमा नै गर्ने गरिन्थ्यो ।’
कसैको मृत्यु हुँदा गरिने काजक्रियाका धेरै कार्य चोकमा नै गर्ने चलन रहेको उनी बताउँछन् । ‘अहिले पनि गरिन्छ । बोराको पाल वा कपडाको पाल चारैतिर कोठा जस्तै घेरेर भोज खुवाउने चलन छ,’ धौभडेल भन्छन्, ‘चोकलाई आ–आफ्नो कामकाज तथा आवश्यकताअनुसार उपयोग गर्ने गरिन्थ्यो ।’
चोक बनाउनुको वैज्ञानिक कारण
सामाजिक रुपमा अन्तरघुलन भएर बस्न चोक सहयोग गर्ने त छँदैछ, यसको वैज्ञानिक कारण पनि छ । सहरी क्षेत्र त्यसमा पनि नेवार समुदायका घरहरु एकापसमा जोडेर बनाइन्छ । बीचमा चोक बनाउँदा भूकम्प जस्ता प्राकृतिक प्रकोप आउँदा राहत पुग्छ ।
साथै चोकले अपनत्वको भावना जगाउने पनि काम गर्छ । घरमा बस्न नलागेका वा केही समस्या भएमा चोकमा बसेर आफ्ना दुःखसुखका कुरा छिमेकीसँग साट्दा मनमा शान्ति मिल्छ ।
हराउँदैछन् चोक
चोकको महत्व धेरै भए पनि पछिल्लो समय भने चोक बनाउने क्रम निकै घटेको छ । भएका चोकको पनि संरक्षण भइरहेको पाइँदैन भने नयाँ चोक निर्माण त झनै हराएको छ ।
संस्कृतिविद् धौभडेल पछिल्लो समय मानिसमा सामूहिकता भन्दा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताउँछन् । ‘अहिले संयुक्त रुपमा गर्ने भन्दा पनि एक्लै गर्छु भन्ने भावना व्याप्त छ । त्यही कारण चोक बनाउने काममा पनि कमी आएको हुनसक्छ,’ उनी भन्छन् ।
हिजोआज भोजभतेर लगायत सामाजिक कार्य चोकभन्दा पनि पार्टी प्यालेस, होटलमा गर्ने प्रचलन बढेको छ । ‘भोजभतेर गर्नुपरे पनि किन चोकमा गर्नुपर्यो, पार्टी प्यालेसमा गर्ने नि भन्ने जवाफ सुनिन्छ हिजोआज,’ धौभडेल भन्छन्, ‘यसले गर्दा आफ्नो भागमा परेको खाली जग्गा पनि चोकको रुपमा प्रयोग नगरी पर्खाल लगाएर आफैं एक्लौटी प्रयोग गर्ने गरेको पाइन्छ ।’
धेरै चोकहरु अहिले कानुनी रुपमै व्यक्तिगत बनाउन खोजिएको छ । कुनै शुभकार्य गर्दा पार्टी प्यालेसमा गरे पनि मृत्यु संस्कार त घरबाहिर नै गरिन्छ । यस्तो बेला चोक नहुँदा सडक नै जाम गरेर गर्नुपर्ने अवस्था आइरहेको धौभडेल बताउँछन् ।
‘यदि चोक भएको भए त्यसरी बाटो छेक्नुपर्ने अवस्था नै सिर्जना हुँदैन,’ धौभडेल भन्छन्, ‘त्यसैले मान्छे बाँच्ने बेलामा अहंकारी भएर बाँचे पनि मरिसकेपछि समाज चाहिन्छ । त्यसैले चोक पनि उत्तिकै अवाश्यक छ र यसलाई निरन्तरता दिनुपर्छ ।’
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4