+

‘दिसामा गाढा रगत देखिनु आन्द्रामा क्यान्सरको संकेत पनि हुनसक्छ’

२०८० वैशाख  १९ गते १०:०५ २०८० वैशाख १९ गते १०:०५
‘दिसामा गाढा रगत देखिनु आन्द्रामा क्यान्सरको संकेत पनि हुनसक्छ’

काठमाडौं । विश्वव्यापी रुपमै क्यान्सरबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । नेपालमा पनि क्यान्सर पीडितको संख्या निकै छ । यसमध्ये पनि ठूलो आन्द्राको क्यान्सरबाट पीडित हुनेको संख्या अग्रपंक्तिमै आउँछ ।

ठूलो आन्द्राको क्यान्सरबारे पर्याप्त जनचेतनाको कमीले समयमै पहिचान र उपचार हुन नसक्दा यो रोग ठूलो समस्याको रुपमा देखा परिरहेको छ ।

क्यान्सर हुने बित्तिकै व्यक्तिलाई मृत्युको भयले सताउँछ । तर क्यान्सर हुने बित्तिकै छिटो पहिचान र उपचार भएमा बिरामी निको भएर सामान्य जीवनमा फर्किन सक्ने चिकित्सक बताउँछन् । ठूलो आन्द्राको क्यान्सर कसरी लाग्छ, परीक्षण कसरी गराउने ? उपचार के छ ? लगायत विषयमा केन्द्रित रहेर पाटन अस्पतालका ग्यास्ट्रोइनटेस्टिनल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. सुरेन्द्र  शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :

के हो ठूलो आन्द्राको क्यान्सर ?

हाम्रो शरीरमा कोषहरु बनिरहेका हुन्छन् । ती कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा क्यान्सर हुन्छ । त्यस्तै, कुनै कारणवश ठूलो आन्द्रामा तीव्र रुपमा अत्यधिक कोषहरु बढ्दै गएमा ठूलो आन्द्राको क्यान्सर हुन्छ । ठूलो आन्द्राको क्यान्सरलाई कोलोरेक्टल क्यान्सर पनि भनिन्छ ।

ठूलो आन्द्राको क्यान्सर के कारणले हुन्छ ?

परिवारभित्र बाबुआमा वा अघिल्लो पुस्तामा कसैलाई पहिला नै आन्द्राको क्यान्सर भएको छ भने बच्चामा पनि सर्न सक्ने सम्भावना हुन्छ । त्यस्तै, रेड मिट, फाइबर अत्यन्त कम खाने, धुम्रपान र मद्यपान गर्ने बानी पनि ठूलो आन्द्राको क्यान्सर गराउने मुख्य कारक हुन् ।

अत्यधिक मोटोपनले क्यान्सरको जोखिम बढाउँछ । कुनै पनि आन्द्रामा देखिने रोग समयमा उपचार भएन भने पनि क्यान्सरको रुप लिन्छ । आन्द्रामा देखिने कोलोरेक्टल पोलिपको समयमा उपचार नहुँदा, इन्फ्लामेटरी बाउल डिजिजले ठूलो आन्द्राभरि नै घाउ बनाउँछ । त्यसको उपचार भएको छैन वा पित्तनलीसम्बन्धी रोगमा पनि अन्तिममा गएर क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

क्यान्सर भइसकेपछि कस्तो लक्षण देखिन्छ ?

आन्द्राको कुन भागमा क्यान्सर भएको छ, त्यहीअनुसारको संकेत देखाउँछ । क्यान्सर ठूलो आन्द्राको दायाँ भागमा भएको छ भने बिरामीलाई कुनै किसिमको दुखाइ नहुन सक्छ । उनीहरुमा एकैपटक रगतको कमी भएर रिंगटा लाग्ने, कमजोर अनुभव हुने, छिटो थाक्ने जस्ता लक्षण देखिन्छ ।

त्यस्तै, बायाँतर्फको भागमा क्यान्सर भएमा मासु पलाएर आन्द्रा साँघुरो हुन्छ, जसकारण दिसा गर्ने क्रममा त्यसको प्रभाव फरक हुन्छ । उनीहरुमा कडा दिसा हुने, दुई-तीन दिनपछि मात्र दिसा हुने, कहिले डायरिया हुने, कहिलेकाहीं खाना खाएपछि पेट बटारिएको जस्तो अनुभव हुने हुन्छ ।

कहिलेकाहीं क्यान्सरले पलाएको मासुको भागबाट रगत बग्ने गर्छ, जुन गएर दिसामा गाढा रगत देखा पर्छ । धेरैमा दिसामा रगत देखिने बित्तिकै पायल्स हो भन्ने अनुमानले गर्दा उपयुक्त उपचार भइरहेको हुँदैन, जसले गर्दा क्यान्सर झन् फैलिन सक्छ । त्यसैले अनुमान गर्नु साटो दिसामा रगत देखिने बित्तिकै ग्यास्ट्रोलोजिस्ट, जीआई वा जनरल सर्जनलाई देखाउनु उत्तम हुन्छ ।

ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लगाउन के जाँच गर्नुपर्छ ?

दिसामा समस्या भएर आएका बिरामीमा दिसाको परीक्षण गरिन्छ । यसबाट बिरामीमा रगतको मात्रा कति छ भनेर निक्र्योल गर्न सकिन्छ । यसबाट पनि केही हदसम्म पत्ता लाग्छ ।

त्यस्तै, कोलोस्कोपी गरेर दूरबिनको माध्यमबाट ठूलो आन्द्राको अवस्था हेरिन्छ । यदि त्यसरी हेर्दा क्यान्सरको लक्षणको शंका लागेमा त्यहाँबाट सानो टुक्रा निकालेर बायोस्पी गरिन्छ, जसबाट क्यान्सर छ कि छैन पत्ता लाग्छ ।

क्यान्सर पत्ता लागेपछि कुन चरणमा छ भनेर पेट र छातीको सिटिस्क्यानबाट हेरिन्छ ।  बिरामीको अवस्था बुझ्न बिरामीको मुटु, छाती, रगत लगायत परीक्षणपछि उपचार प्रक्रिया अघि बढ्छ ।

क्यान्सरको उपचार सम्भव छ ?

कुनै पनि औषधिले क्यान्सरको उपचार हुन सक्दैन । यसको पूर्ण उपचार सफलताको लागि क्यान्सर भएको भागलाई निकालेर फाल्नुपर्छ । तर यसमा ध्यान दिनुपर्ने कुरा के छ भने शल्यक्रिया गर्ने अवस्थामा बिरामी छ कि छैन, क्यान्सरको कुन चरण हो भन्ने कुरा हेर्नुपर्छ । क्यान्सर अन्य अंगमा फैलिएको छैन भने क्यान्सर भएको मासुको भाग निकाल्न सकिन्छ । मासुसँगै त्यसको ग्रन्थि पनि निकाल्नुपर्छ । क्यान्सर हुँदा सम्पूर्ण भाग नै फाल्नुपर्ने हुँदा अन्य शल्यक्रिया भन्दा क्यान्सरपछिको शल्यक्रिया फरक हुन्छ । पहिला चिरफारबाट मात्र शल्यक्रिया हुन्थ्यो भने अहिले ल्याप्रोस्कोपिक प्रविधिबाट सानो घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ ।

ठूलो आन्द्राको क्यान्सरपछि बिरामी बाँच्ने सम्भावना कति रहन्छ ?

सुरुको अवस्थामा पहिचान भए शल्यक्रिया गरेर बिरामी पूर्ण निको हुन सक्छ । क्यान्सरको तेस्रो चरण पार भएको छैन भने शल्यक्रिया गराउन मिल्छ । चौथो चरणमा भने कलेजोतिर पनि क्यान्सर फैलिसकेको हुन सक्छ । जहाँसम्म फैलिएको छ त्यो भागसम्म काट्न सकियो भने निको पार्छ । तर पुनः बल्झिन पनि सक्छ त्यो अवस्था निम्तिन नदिन केमोथेरापी चलाउनुपर्छ ।

कसैमा रेडियोथेरापी पनि जरुरी हुन सक्छ । चौथो चरणमा पुगेका बिरामीले छिटो उपचार गरेर स्वास्थ्यलाई हेरचाह गरेर धेरै वर्षसम्म बाँचेका थुप्रै उदाहरण छन् । समयमा उपचार नहुँदा भने चौथो चरणमा पुगेका बिरामी मृत्युको जोखिममा हुन्छन् ।

क्यान्सरबाट निको भइसकेका बिरामी सामान्य जीवनमा फर्किन सक्छन् । तर चिकित्सकको  रेगुलर फलोअपमा भने बस्नुपर्छ, ताकि क्यान्सर पुनः बल्झिएमा छिटो उपचार गर्न सकियोस् ।

ठूलो आन्द्राको क्यान्सरबाट कसरी बच्न सकिन्छ ?

-वंशाणुगत जोखिमलाई कम गर्न सकिंदैन । त्यस्तो अवस्थामा सानो उमेरदेखि नै परिवारको सदस्यले वर्षमा एकपटक स्क्रिनिङ गराउनुपर्छ । जसले क्यान्सर देखिएमा पनि छिटो पहिचान र उपचार हुन्छ ।

-मोटोपन हुन नदिन फाइबरयुक्त र ठिक्क मात्रामा सन्तुलित आहार खानुपर्छ । शारीरिक व्यायामलाई प्राथमिकता दिनुपर्छ ।

-पोलेको मासु, रेडमिट, क्यान वा प्याकेटमा रसायन मिसाएको हुन्छ, जुन हानिकारक हुन्छ । त्यस्तोमा प्रशोधित र भण्डारण गरी राखिएको मासु वा अन्य खानेकुरा खानु हुँदैन ।

-मदिरा र धुम्रपानले पनि क्यान्सरको जोखिम गराउने हुँदा त्यसबाट टाढा रहनुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

क्यान्सर डा. सुरेन्द्र शाह दिसा
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?