
काठमाडौं । चर्चित सांगीतिक समूह मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेलबर्नबाट सुरु भएको अष्ट्रेलिया यात्रा आइतबार एडिलेडमा पुगेर टुंगिएको हो । त्यसअघि ब्रिसबेन, सिड्नी, क्यानबेरा, डार्विन, पर्थ र होवर्टमा पनि ब्याण्डले कन्सर्ट गरेको थियो ।
‘१० वर्षपछि हाम्रो अष्ट्रेलिया टुर सफलतापूर्वक सम्पन्न भएको ठानेका छौं,’ ब्याण्डका प्रमुख गायक राजु लामाले भने, ‘हरेक सहरमा नेपाली समुदायले माया दर्शाउनुभयो । यसबाट हामी निकै खुसी छौं ।’ ती कन्सर्टमा गायक लामाले चर्चित ट्रयाक ‘मेरो नेपाल’बाट कन्सर्ट थालेका थिए ।
यो गीतमार्फत कन्सर्ट थाल्दा राष्ट्रिय भावले दर्शक ओतप्रोत भएका थिए । त्यसपछि उनले लाइनअपमा बादलपारिको देशबाट, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा जस्ता ब्याण्डका चर्चित गीतहरु गाएर दर्शकलाई नचाए ।
आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै म्युजिकल टुर टुंग्याएका थिए । यात्रा टुंग्याउँदै गर्दा दर्शकदीर्घाबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्याण्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्याण्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
प्रतिक्रिया 4