
१९ वैशाख, काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारण्लाई जारी गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । १९ वैशाख मंगलबार बिहान कम्पनकिो धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले ८ वैशाख देखि १२ वैशाखसम्म सर्वसाधारणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयरका लागि आवेदन माग गरेको थियो । कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदकले १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन दिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएका छन् । यस्तै १२ लाख ७३ हजार ८९१ जनाको आवेदन योग्य रहेको प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । यसरी बाँडफाँट गर्दा योग्य आवेदकमध्ये १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमध्येबाट पनि एक जनाले थप एक कित्ता सेयर पाएका छन् ।
कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4