काठमाडौं । के नृत्य फिल्ममा कथावाचनको प्रमुख हिस्सा बन्न सक्ला ? केही वर्षअघिसम्म यो प्रश्न कल्पनाभन्दा बाहिरको कुरा थियो । रुचि भए पनि लगानीको जोखिमले निर्माताले आँट्न सक्दैनथिए । यतिबेला परिस्थिति बदलिएको छ । नेपाली फिल्मले डान्समार्फत कथा भन्न थालेको छ ।
वैशाख २१ गते प्रदर्शन तयारीमा रहेको ‘ज्याक : आई एम ट्वान्टी वान’को रिलिज नेपाली फिल्मको कथावाचन परम्परामा एउटा मानक बन्नेछ । ६ दशक लामो घरेलु फिल्मको इतिहासमा डान्स ड्रामा जनरामा फिल्म बनेको छ । फिल्ममा डान्सलाई खाली ठाउँ भर्ने र मनोरञ्जन मात्र दिनुपर्छ भन्ने परम्परागत कथ्यलाई भत्काउँदै रेनशा राई राणाले यो फिल्म निर्देशन गरेकी छन् ।
रेनशा आफैंमा घरेलु फिल्मकी चर्चित नृत्य निर्देशक हुन् । गत फेब्रुअरीमा उनको फिल्म करिअरले १३ वर्ष पूरा गरेको छ । ‘मेरो एउटा साथी छ’बाट कोरियोग्राफी थालेकी रेनशाको डेब्यु फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ कोभिड संकटअघि रिलिज भएको थियो । कोरोना महामारीकालमै छायांकन गरिएको ‘ज्याकी : आई एम ट्वान्टी वान’ले नेपाली फिल्ममा जनराको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आशा उनले लिएकी छन् ।
फिल्ममार्फत पात्रको मनोदशा, रिस, आवेग र निराशालाई नृत्यमा बुनेकी रेनशाले यसपटक काठमाडौं र धरानको सेटिङमा कथा भनेकी छन् । फिल्मको शीर्ष पात्र ज्याकी बाबुको इच्छा विपरीत लाहुरे बन्न छोडेर सफल डान्सर बन्ने हुटहुटी लिएर काठमाडौं पस्छ । डान्सर बन्ने धोको पूरा गर्न उसले च्याम्पियनसिप जित्नुपर्छ । परिवार र आफैंसँगको लडाइँमा के ऊ सफल रहला ? ज्याकीले सन्तानप्रति परिवार र समाजको अपेक्षा तथा त्यसविरुद्ध द्वन्द्वकोे कथा पेश गर्छ ।
हुनसक्छ, आफैं नृत्य निर्देशक भएकाले रेनशालाई यो कथा भन्न सजिलो भयो होला तर लगानीको हिसाबले यो ठूलै जोखिम हो । यदि यो फिल्म बक्स अफिसमा सफल भएको खण्डमा यसले घरेलु फिल्मको व्याकरण, कथा अन्वेषण र दृश्यभाषामा नयाँ अध्यायको थालनी गर्नेछ । हामीले हलिउडमा ‘स्टेप अप’ र भारतमा ‘एबीसीडी’जस्ता डान्स ड्रामा हेर्यौं । यो नेपाली डान्स ड्रामा चाहिं के रहेछ ? कुन अर्थमा भिन्न रहेछ ? अनलाइनखबरको स्टुडियोमा रेनशालाई हामीले यो प्रश्न सोध्यौं ।
रेनशालाई लाग्छ ती विदेशी फिल्म डान्स फिल्म हुन् तर ज्याकी विशुद्ध डान्स ड्रामा हो । ‘कम बजेटमा बनेका नेपाली फिल्मसँग ती फिल्मको तुलना हुनु खुसीको कुरा हो । नेपालकै बजारलाई हेर्दा पक्कै पनि त्यो बजेट धेरै नै लाग्न सक्छ तर विदेशमा बन्ने फिल्मभन्दा यो निकै सानो हो । स्टेप अप र एबीसीडीसँग तुलना हुनुलाई म सकारात्मक रुपमा लिन्छु । यो डान्स होइन, डान्सरबारेको कथा हो,’ उनी भन्छिन् ।
उनी ज्याकीलाई डेब्यु फिल्म भन्न रुचाउँछिन् । ‘मेरा लागि यो दोस्रो नभएर पहिलो फिल्म हुनुपर्थ्यो होला । यो एकदमै चुनौतीपूर्ण विषय चाहिं हो किनभनेदेखि डान्स बुझेको मान्छेलाई मात्र यसले सुरुमा आकर्षित गर्न सक्छ । कहिल्यै पनि नबनेको नयाँ जनरा र विषयमा फिल्म बनाउनु एकदमै जोखिमपूर्ण छ,’ उनी भन्छिन्, ‘जुन किसिमको कोरियोग्राफी मैले नेपाली फिल्ममा गर्थें र मेरा रोमान्टिक गीतलाई रुचाइन्थ्यो । नजिकको तीर्थ हेला भनेजस्तो आफूमा भएको कुरालाई त्यति धेरै मूल्यांकन गरिंदैन । पछिल्लो समय जस्ता फिल्मको बजार छ, ती हेर्दा मेरो फिल्म त एकदमै एलियन सब्जेक्टजस्तो भएको छ । नर्भस पनि छु र उत्साहित पनि । दर्शकले भिन्न किसिमको मनोरञ्जन पक्कै पाउनुहुन्छ ।’
ज्याकीको कथावस्तु अवश्य पनि नेपाली डान्सरप्रति समर्पित छ, जसले नृत्यकार बन्ने सपना लिएर परिवार र समाजको आशाविरुद्ध संघर्ष गरिरहेका छन् । ‘धेरै डान्सर जो मसँग नजिक छन् । जो यहाँसम्म पुग्नुपर्ने थियो तर पुग्न सक्नुभएन । उनीहरुको कथा हो यो । यसमा परिवारको साथ, सामाजिक बनोट, जिम्मेवारी जसले असफलता भोगे, उनीहरुको कथा हो यो,’ उनी भन्छन् ।
फिल्म बनाउने रेनशाको धोको उहिल्यैदेखिको हो । जब निर्माण कम्पनीका आइकोरका प्रज्ज्वल राणासँग उनको प्रेम विवाह भयो, त्यसपछि उनको करिअरमा धेरै बदलाव आयो । आइकोरकै निर्माण रहेको इन्टुमिन्टु लण्डनमाबाट उनले निर्देशनमा डेब्यु गरिन् । कलाकारलाई नचाउँदा नचाउँदै फिल्म निर्देशन गर्ने धोकोले यतिबेला मूर्तरुप पाएको छ । ‘मान्छे जहिले पनि प्रगतिशील जाति हो । काम गर्दा गर्दै कुनै प्वान्टमा पुगेर अब निर्देशन गर्छु भन्ने सोच आइराखेको थियो । कुनै ठाउँमा पुग्नका लागि आफूले कोसिस त गर्नुपर्यो नि । लिगेसीलाई निरन्तरता दिनुपर्यो,’ उनले कारण खुलाइन् ।
रेनशालाई लाग्छ कोरियोग्राफर बनेर गीत निर्देशन गर्नु र फिल्म निर्देशक बनेर कथा भन्नुमा बृहत भिन्नता छ । यसबारे उनको आफ्नै व्याख्या छ । ‘कोरियोग्राफी गर्नु भनेको ठूलो घरको एउटा कोठा सजाउनु जस्तै मात्र हो । फिल्म निर्देशन गर्नु भनेको जगदेखि घर बनाएर, त्यसलाई कम्प्लिट गरेर त्यसलाई सजाउनु हो,’ उनको बुझाइ छ ।
डान्सलाई फिल्ममा खाली ठाउँ भर्ने र मनोरञ्जन दिने कुरामा मात्र सीमित तुल्याइएको बेला डान्समार्फत कसरी कथा भन्न सकिन्छ ? उनको जवाफ छ, ‘यो नै हाम्रो फिल्मको आकर्षक पक्ष हो । यसरी कथा भन्ने क्रममा रिलिज भएका गीतमा कमर्सियल कुरा भएन । यसमा कथा थियो । यस फिल्मभित्र नृत्य र संगीतमार्फत कथा भनिएको छ । हालै रिलिज भएको गीत योद्धामा समेत कलाकारको फ्रस्टेसनको कुरा छ,’ उनी भन्छिन् ।
धेरैलाई लाग्न सक्छ, नेपालमा अनेक जातजाति, समुदाय र संस्कृतिमा आधारित नृत्य परम्परा छन् । तर रेनशाले नृत्यको विधामा कल्चरल पक्षलाई छनोट नगरेर पछिल्लो समय मात्र सहरमा व्यापकता पाएको हिपहप जनरामार्फत कथा भनेकी छन् । उनी हिपहप जनरामार्फत युवापुस्तालाई हलमा आकर्षित गर्न चाहन्छिन् । ‘नेपाल आफैंमा जातजाति र संस्कृति भएको मुलुक हो । ती डान्सर जसलाई म सुरुमा यो फिल्म समर्पित गर्न चाहन्छु । म अहिलेका योङस्टरलाई हलसम्म तान्न चाहन्छु र आकर्षित तुल्याउन चाहन्छु । युवापुस्ता जता बगिरहेको छ, त्यतै बग्न पनि मैले हिपहपलाई डान्स जनराको रुपमा छनोट गर्नुपर्यो,’ उनले औचित्य पुष्टि गर्ने प्रयास गरिन् ।
अबदेखि रेनशालाई कोरियोग्राफी गरेको कमै देख्न पाइनेछ । के अब कामै नगर्ने ? उनको जवाफ छ, ‘त्यस्तो होइन । अबदेखि नयाँ ट्यालेन्टलाई ठाउँ दिने सोचसहित नगरेकी हुँ ।’ हुन सक्छ यहीकारण ज्याकीमा पनि उनले नयाँपुस्ताको कोरियोग्राफीलाई मौका दिएकी छन् । ज्याकीको ट्रेलर र गीत सहरी दर्शकमाझ चर्चित पनि छ । अब यसले ग्रामीण क्षेत्रका दर्शकलाई कसरी रिलेट गर्ला ? उनको जवाफ छ, ‘अहिले नै यो सहरी क्षेत्रका दर्शकलाई मात्र भनेर वर्गीकरण गर्न नमिल्ला । संघर्ष, दुःख, माया र रिस सबैको एउटै हो । भावना भनेको सहर र गाउँमा बस्ने सबैको एउटै हुन्छ । यो संघर्षको कथा हो । यसले सबैथरी दर्शकलाई छुन्छ’ रेनशा भन्छिन् ।
फिल्म ज्याकीको निर्माण हुँदै गर्दा रेनशाको पेटमा जुम्ल्याहा बच्चा हुर्किरहेका थिए । एकातिर आमा बन्नुको जैविक प्रक्रिया र अर्कोतिर फिल्म निर्देशकको रुपमा सिर्जनाको अर्को प्रक्रिया । यी दुई प्रक्रियालाई सन्तुलन मिलाउँदै रेनशाले एकातिर जुम्ल्याहा सन्तानलाई जन्म दिइन् भने सिर्जनात्मक सन्तान फिल्म ज्याकीको निर्माण पूरा गरिन् । ‘फिल्म सकेर आराम गर्ने समयमा म प्रेग्नेन्ट भएको हो । कोभिडको समयमा जोखिम लिएर फिल्म सुट गरेका हौं । सुत्केरीपछि तीन महिना मात्र आराम गरेर म काममा ब्याक भइहालें,’ उनले काम र मातृत्वबारे अनुभव बाँडिन् ।
१३ वर्षको करिअरमा जीवन र व्यवसायमा उतारचढाव भोगेकी रेनशा अब धमाधम फिल्म निर्देशन गर्न चाहन्छिन् र यसका लागि उनीसँग कैयौं प्रोजेक्ट छन् । दर्शकले माया दिए ‘ज्याकी : आई एम ट्वान्टी वान’को श्रृंखला निर्माण गर्ने पनि उनको सोच छ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4