
१९ वैशाख, बुटवल । योगीकुटी–धकधई ३३ केभी डबल प्रसारणलाइनका कारण पटक–पटक आगलागीका घटना भएपछि स्थानीयले तारलाई भूमिगत गर्न माग गरेका छन् ।
हाइटेन्सन लाइनका कारण तिलोत्तमा नगरपालिका–८ प्रदिपनगरका करिब दुई सय घर र जनभावना माविका एक हजार विद्यार्थी र शिक्षक आगलागीको जोखिममा परेको भन्दै स्थानीयले तार भूमिगत गर्न नगर प्रमुख रामकृष्ण खाँणलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
प्रसारणलाइन विस्तार गर्ने क्रममा पनि स्थानीयले भूमिगत गर्न माग गर्दै आन्दोलन गरेपनि प्रहरी प्रशासनको बल प्रयोग गरेर जबरजस्ती गरिंदा सिंगो गाउँ नै जोखिम र त्रासमा परेको स्थानीय डिल्लीराज भण्डारीले बताए । ‘पटक-पटक हाइटेन्सन तार पड्किंदा इन्टरनेटको केबल तारमा आगलागी भइरहेको छ, तार भूमिगत नगर्ने हो भने सिंगो गाउँ ठूलो दुर्घटनामा पर्छ’ भण्डारीले भने ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँणले स्थानीयका माग सम्बोधन गर्न यसअघि नै सम्बन्धित मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा पत्राचार गरिए पनि सुनुवाइ नभएकाले फेरि पहल गर्ने बताए ।
चट्याङ पर्दा, मौसम खराबी हुँदा र हाइ भोल्टेज आउँदा हाइटेन्सन लाइनमा आगलागीको जोखिम र विद्युतीय सामानहरु समेत जल्ने र पड्किने हुन्छ ।
सोमबार बिहान हाइटेन्सन लाइन पड्किंदा इन्टरनेट केबल तारमा आगलागीसँगै स्थानीयले घरमा प्रयोग गर्ने विद्युतीय सामग्री जलेर क्षति भएको थियो ।
प्रतिक्रिया 4